पोखरा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं ५ बाँगेफड्के, सिरान चौरस्थित भगवती आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्वस तथा अभिभावक दिवसको अवसरमा बृहत फेदीखोला पोखरा सम्पर्क समाजले शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक तथा खेलकुदको स्तरवृद्धिको लागि गाउँपालिकाले हरसम्भव प्रयास गरेतापनि सीमित श्रोत साधनका कारण नसकेको अवस्थामा सम्पर्क समाजको सहयोगले गाउँपालिका कृतज्ञ भएको बताउनुभयाे ।
समाजका अध्यक्ष कृष्ण क्षेत्रीले फेदीखोलामा जन्म भई पोखरामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुको साझा चौतारी सम्पर्क समाज भएकोले संस्थाले गर्ने हरेक सामाजिक कार्य फेदीखोला गाउँपालिकाभित्र गर्दै आएको बताउनुभएकाे थियाे ।
कार्यक्रमका संयोजक राजकुमार क्षेत्रीले बाँगेको भगवती आधारभुत विद्यालय र सम्रेसको वाराही आधारभुत विद्यालयमा टेलिभिजन सेट, ह्वाइट वोर्ड र मार्कर तथा विद्यार्थीहरुको लागि कपि, कलम, जुत्ता, मोजा, भलिबल, व्याडमिन्टन, स्किपिकिङ प्रदान गरिएको बताउनुभयाे ।
संस्थाका सचिव लाल कार्की अन्जानले समाजले विगतका वर्षहरुमा फेदीखोला -३, भाटखोलाको शारदा रमणीय डाँडा आधारभूत विद्यालय र वडा नं- २ को खहरे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको जानकारी दिंदै आगामी दिनहरुमा पनि थप वडाका विद्यालयहरुलाई सहयोग गर्ने बताउनुभयाे।
भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद लामिछानेलगायतले ग्रामीण भेकका विद्यालयमा विद्यार्थीको संख्या दिनप्रतिदिन कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै विद्यालयलाई सहयोग गरेकामा संस्थालाई धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।
सोही दिन उक्त गाउँपालिकाको सम्रेस स्थित बाराही आधारभूत विद्यालयमा पनि संस्थाले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । समाजका अध्यक्ष कृष्ण क्षेत्रीले विद्यालयका प्रधानाध्यापक ठक बहादुर गुरुङलाई सहयोग सामाग्री हस्तान्तरण गरेका संस्थाका उपाध्यक्ष जगदिश लामिछानेले बताउनुभयाे ।