कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा एमाले सम्मको राजनीतिक यात्रामा आमकार्यकर्ताको योगदान समेटिएको पुस्तक ‘भुइँमान्छे’ सार्वजनिक भएको छ ।
नेकपा एमालेकी निलम्वित स्थायी समिति सदस्य विन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’ मंगलवार झापा र इलामको सीमाना बधस्थल सुखानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टहरूले कम्युनिष्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तात्कालिन घटनामा आम कार्यकर्ताको भुमिका समेटिएको पुस्तक भएकाले सुखानीमा विमोचन गरिएको लेखिका पाण्डेले बताउनु भयो ।
सुखानीमा बुधवार बिहान पार्टीको जिल्लास्तरीय कार्यक्रम पनि भएको थियो । तर पार्टीको कार्यक्रममा पाण्डेको पुस्तक विमोचन गरिएन । पार्टीको कार्यक्रम सकिएपछि सोही स्थानमा कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो । कोअर्डिनेसन केन्द्र स्थापनाका आश्रयदाता भक्तबहादुर आले (मनोहर) र माले निर्माणमा आश्रय दिने इटहरा मोरङका टेकबहादुर राईले संयुक्त रुपममा पुस्तक विमोचन गरेका हुन् ।
झन्डै ४ दशक बाम राजनीतिमा विताएकी लेखिकाले आम सर्वसाधरणले तात्कालिन समयमा निर्वाह गरेको भुमिका र इमानका कारण नै मुलुकले लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गर्न सकेकाले उनीहरुको भुमिकालाई सम्मान गर्नुपर्ने बताईन् । पुस्तक ‘भुइँमान्छे’ नेकपा एमाले निर्माणमा आम कार्यकर्ताको भुमिकामा केन्द्रित छ ।
पुस्तकको भुमिकामा लेखिकाले लोकतन्त्र प्राप्ति पछि पार्टीभित्र नेतृत्वबाट भएका कतिपय निर्णयहरुलाई अप्रजातान्त्रिक कार्यशैलीका रुपमा चित्रण गर्नुभएको छ । सुशासनका लागि आवाज उठाउँदा पार्टी नेतृत्वबाट विद्रोही शैलीको भाष्य श्रृजना गरिएको भएपनि आफू सधैँ पार्टी बनाउन भुमिका निर्वाह गर्ने भुइँमान्छेका भावना र अपेक्षाप्रति प्रतिवद्ध रहेको पाण्डेले बताइन् ।
पार्टी कार्यालय बनाउन सहयोग लिने नेतृत्वको निर्णय सुशासन विरोधी भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि ६ महिनाका लागि निलम्वनमा परेकी पाण्डेले पुस्तक ‘भुइमान्ँछे’ मा पनि नेतृत्वले आमकार्यकर्ताको अपेक्षा अनुसार काम गर्न नसकेका कारण राजनीतिप्रति वितृष्णा फैलिएको उल्लेख गर्नुभएको छ ।
पार्टीले कारवाही गरेको समयमा पार्टीकै दस्तावेज लिएर उपस्थित भएकी लेखिका पाण्डे र पुस्तकका सम्पादक होम भट्टराईसंग ‘भुइँमान्छे’ का बारेमा न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ । प्रश्तुत छ कुराकानीमा आधारित समाचार सामग्री ।
आश्रय, सुरक्षा र सम्पर्कका सारथीः भुइँमान्छे
आश्रय, सुरक्षा र सम्पर्कका सारथी : भुइँमान्छे’ नाम दिईएको पुस्तकमा २०२८ देखि ०४६ सालसम्म खास गरेर नेकपा माले धार निर्माणमा आमनागरिकले निर्वाह गरेको भुमिकालाई चित्रण गरिएको छ । पार्टी निर्माणमा तल्लो तहका कार्यकर्ताले निर्वाह गरेको भुमिकालाई तात्कालिन घटनासहित उद्धृत गरिएको छ । भूमिगत नेताहरुको संरक्षणमा उनीहरुले आफ्नै ज्यानको बाजी लगाएका दृष्टान्तहरु पुस्तकमा फेला पार्न सकिन्छ । नेता पक्राउ गर्न आएको सुरक्षा निकायको टोलीबाट वाारेण्ट सूचि नै नियन्त्रणमा लिनु, ‘भित्ता कोरुवा हो’ भन्दै सुरक्षाकर्मीकै अगााडिबाट आफ्ना केन्द्रिय नेताको संरक्षण गरेका दृष्टान्तहरु पढ्दै गर्दा तात्कालिन राजनीतिक आन्दोलनमा आम नागरिकको इमान्दारीता, कर्तव्य निष्ठ र राजनीतिप्रतिको उच्च भरोसा रहेको सजिलै बुझ्न सकिन्छ ।
लेखिका पााण्डे भन्छिन् ‘२०२८ सालदेखि ०४६ सालसम्म खास गरेर नेकपा माले धार निर्माणमा आमनागरिकको भूमिका कस्तो रह्यो भन्ने कुरामा उहाँहरु पार्टी निर्माणमा कसरी सहयोग गर्नुभयो, भूमिगत नेताहरुलाई कसरी लुकाउनुभयो, कसरी खुवाउनुभयो र व्यवस्थापन कसरी गर्नुभयो भन्ने कुरामा त्यतिखेर कडा निरञ्कुस शासन थियो, त्यतिखेर सुरक्षा कसरी दिनुभयो ? उहाँहरु आफै सम्पर्क गर्न सक्ने स्थिति थिएन । उहाँहरुलाई कसरी सुरक्षा दिनुभयो ? उहाँहरु आफै गएर सबैलाई सम्पर्क गर्न सक्ने अवस्था थिएन । आमनागरिक, किसान, मजदुर जस्लाई संगठित गर्नुपर्ने थियो उहाँहरुलाई कसरी भेटाउनुभयो आश्रय दिने व्यक्तिहरुले भन्ने कुरामा खास गरेर श्रमजीबी, महिला, किसान, बालबालिकाहरुले पनि कसरी सहयोग गरे भन्ने विषय र पार्टी निर्माणमा आममान्छेको भूमिकाका विषयमा यसमा लेखिएको छ । त्यसैले यो किताबको नाम नै ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथी : भुइँमान्छे’ राखिएको छ ।’
भुइँमान्छे आधारभुत वर्गलाई समेट्ने एउटा सम्मानित शब्द हो
भुइँमान्छेहरुले यो पार्टी(नेकपा एमाले) बनाएका हुन्
पार्टी गठनमा महत्वपुर्ण योगदान दिएकालाई ‘भुइँमान्छे’ भन्दा अपमानित गरे जस्तो लाग्दैन भन्ने प्रश्नमा लेखिका भन्छिन् —‘ भुइँमान्छे भनेको जस्ले अहिले पनि धर्ती छोडेको छैन र यो धर्तीको रक्षा पनि उसैले गरेको छ । भुइँ नछोडी यतिबेला समाजको आवाज पनि उठाइ रहेको छ । एकदमै ठूलो कष्ट सहेर पनि मुलुकमा परिवर्तन हुन्छ भने ‘मृत्युको प्रवाह छैन साथी हो’ भनी तात्कालिन समयमा मदन भण्डारीले भन्नुभए जस्तै त्यतिबेलाका किसान,सर्वहाराहरुले जीवनको पर्वाह नगरी आफ्नो धर्तीमा उभिएर पार्टी निर्माणमा सहयोग गर्नुभयो । यो ‘भुइँमान्छे’ शब्द हेप्ने भन्दा पनि आधारभुत वर्गलाई समेट्नेसम्मानित शब्द हो भन्ने मैले बुझेको छु । अहिले पनि मैदान बिग्रिएको छैन, यो पार्टी त्यही भुइँमा उभिएका मान्छेहरुले बनाएका हुन्, भुइँ खन्ने, भुइँमा पसिना बगाउने मान्छेहरुले बनाएका हुन् र ती मान्छेहरुलाई पार्टीेले अहिले कति समेट्न सकेको छ र उहाँहरुको भावनालाई कतिसम्म बोक्न सकेका छौँ भन्ने खालको प्रश्न उठेको बेलामा त्यही प्रश्नको जवाफ उहाँहरुसँगै गरेको कुराबाट समेटिएको किताबले दिँदा उहाँप्रतिको सम्मानित शब्द हो भन्ने मेरो बुझाइले कितावको नाम राखिएको हो ।’
पार्टी निर्माण गरेको वर्ग किरानमा, नेता सुरक्षा घेरामा
‘भुइँमान्छे’ भित्र तात्कालिन समयमा पार्टी निर्माणमा अहोरात्र खटिएका आमसर्वसाधरण (तल्लो तहका कार्यकर्ता) माथि अन्याय भएको मौन गुनासो गरिएको छ । झुपडीमा बसेर पार्टी गठन भएको र त्यो पार्टीको नेतृत्व गरेका नेताहरुले झुपडी बिर्सेर सुरक्षा घेरामा सिमिति हुन पुगेको भन्दै पुस्तकमा नेतृत्वमाथि तिखो टिप्पणी गरिएको छ । निलम्बित स्थायी समिति सदस्य पाण्डे बहुदलीय जनवादको नीति र प्रक्रियाबाट पार्टी चलोस् भन्ने कामना गर्छिन् । उनले आमनागरिकको तर्फबाट सम्बोधन हुने गरी पार्टीले नीति र विधि तयार गरेर लागू गरोस् भन्ने चाहाना आफूको रहेको उल्लेख गरिन् । उनले पुस्तकमा उल्लेखित आमनागरिकका योगदानलाई पुन एकपटक नेतृत्वले स्मरण गरोस् र झुपडी भित्रको अपेक्षालाई सम्बोधन गरोस् भन्ने अपेक्षा आफूले गरेको बताउनु भयो । पुस्तकमा उल्लेखित पात्रहरुको योगदानलाई स्मरण गर्दे उनले भनिन् —‘ती सामान्य मान्छेहरुले असामान्य हिसाबले पार्टी निर्माण गरेका हुन् । हिजो तिनै मान्छेले पार्टी बनाए, नेता जोगाए तर आज नेताहरु राज्यको सुरक्षाको घेरामा बसेका छन् । जसले पार्टी बनायो उनीहरुले नेतासँग भेट्न, हात मिलाउन, दोहोरो कुरा गर्न नपाउने, नमस्कार गर्न पनि नपाउने खालको दुरी कायम भएको छ । जुन वर्गले पार्टी निर्माण ग¥यो त्यो वर्ग आज किनारीकृत हुन पुग्यो । उहाँहरुमा पार्टी बिग्रिन्छ कि भन्ने चिन्ता छ । उहाँहरुको माग केही छैन मात्रै पार्टी नबिग्रियोस् भन्ने छ । जनताको बहुदलीय जनवादको नीति र प्रक्रियाबाट पार्टी चलोस् र आमनागरिकको तर्फबाट सम्बोधन हुने गरी पार्टीले नीति र विधि तयार गरेर लागु गरोस् भन्ने उहाँहरुको चाहना छ । उहाँहरु नेतृत्वलाई ‘तपाईँहरु जे सकिन्छ त्यो भन्नुस्, जे भन्नुहुन्छ त्यो गर्नुस्’ भन्नुहुन्छ । जनताको बहुदलीय जनवादले यहाँनिर हामीले भनेको र गरेको कुरासँग सम्बन्ध राख्छ भन्ने देखिने गरी भन्न पाउँ भन्ने नै अहिलेको असन्तुष्टि हो ।’
पार्टी दृष्टिकोणमा समस्या छैन, व्यवहार राम्रो भएन
राजनीतिमा नैतिकता पनि हुन्छ । नैतिकताको राजनीति गर्नुपर्छ, शुसासन कायम गर्नुपर्छ भन्दा कारवाही गरियो, मलाई दुःख छैन । ‘भुइँमान्छे’ पढ्दै गर्दा पाठकले तात्कालिन समयमा कोअर्डिनेसन कमिटी (कोके) र नेकपा माले भित्र आन्तरिक प्रजातन्त्र नभएको र नेतृत्वले आफु विरुद्धका आवाजलाई कारवाहीले थान्को लगाउने गरेको अनुभूत गर्छन् । अहिले आन्तरिक सुसासनको कुरा उठाउँदा निलम्बनमा परेकी लेखिका पाण्डेले फेरि पार्टीका पुराना कुरा, जहाँ नेतृत्वको मनोमानी अनुसार निर्णय हुने गरेका विषय उजार गरेर के साँच्चै पार्टी विद्रोह गर्न खोजेकी हुन् ? भन्ने संसय पनि पैदा गराउँछ । महिलावादी लेखन र महिला वादमा सशक्त पैरवी गर्दै आएकी उनले पुस्तकमा तात्कालिन समयमा महिला भएकै कारण शान्ता मानवीलाई लुम्बीनी कमिटीमा नराखिएको प्रसंग उल्लेख गरेकी छ । किसान आन्दोलनमा अग्रपंक्तिमा भुमिका निर्वाह गर्ने महिलालाई वार्तामा समेत सहभागी नगराइएको प्रसंग पनि उल्लेख छ । पुस्तकमा उल्लेखित यी र यस्ता अन्य कयौ प्रसंगहरुबाट नेतृत्व पुन रुष्ट हुने खतरा देखिन्छ । तर लेखिका पाण्डे पुस्तकले तात्कालिन समयमा पार्टी निर्माण बारे आफ्नै पुस्ता र नयाँ पुस्ताले पनि बुझ्ने मौका पाएको र नेतृत्वलाई कार्यशैली सच्याएर अघि बढ्ने सवालमा सहयोगी बन्ने विश्वास आफूले लिएको बताउँछिन् ।
उनी भन्छिन् —‘ पार्टीको दृष्टिकोण क्लियर छ, समानताको कुरा शुरुदेखि नै गर्दै आएको हो । तर व्यवहारमा देख्न सकिएन । व्यवहार, नीति र दृष्टिकोणमा देखिएको दूरी कम गर्नुपर्छ वा मेटाउनु पर्छ । लुम्बिनीमा थुप्रै ठाउँमा बन्दुक लुकाउने, खोस्ने र गिरफ्तार गर्न आउने पुलिसहरुलाई लखेटेर भूमिगत नेताहरुलाई खोसेर जोगाउने, भीमानमा हात्ती चढेर आउने मन्त्रीलाई समेत महिलाहरुले हात्तीबाट झार्नेमा महिलाको अग्रणी भुमिका छ । २०३७ देखि अखिल नेपाल महिला संघको केन्द्रीय तहको संयोजक भएर काम गर्नुभएकी शान्ता मानवीलाई लुम्बिनीमा भएको क्षेत्रीय भेलामा किन नलाने भनेर प्रश्तावै राखियो र तर्क वितर्क धेरै भएपछि त्यहाँ चुनावै होलाजस्तो स्थिति भएपछि उहाँले मेरा कारणले पार्टीमा समस्या हुन्छ भने भैहाल्यो भनेर मैले भनेँ तर अहिले सम्झिँदा नभन्नु पर्ने रहेछ कि जस्तो लाग्यो भनेर उहाँले भन्नुभएको छ । अहिले पनि मैले प्रदीप नेपालसँग कुरा गरेकी थिएँ, देशभरमा तीन सयजति थिए होलान् भुमिगत जाने भन्नुभएको थियो । यही सिलसिलामा मैले को–को भुमिगत जानुभयो त भन्ने संकलन गर्दा २०२ जनाको नाम किताबमा उल्लेख छ, त्यो मध्येमा ५० जनाजति महिला हुनुहुन्छ । सबैकुरा छोडेर भूमिगत भएर काम गर्ने बेलादेखि नै महिलाहरु त्यतिकै सक्रिय हुनुहुन्थ्यो अर्धभुमिगत भएर काम गर्ने, काठमाडौंमा त झन् धेरै हुनुहुन्थ्यो । तर आजको दिनमा पार्टीमा बहस गर्दाखेरी महिलालाई दिएकै छ त ? भन्ने जुन भाष्य छ त्यो गलत भयो । यो पार्टी बनाउन महिलाहरुले पनि योगदान गरेका छन् । महिलाले पुरुषहरुले भन्दा बढी समस्या पनि भोगेका छन्, अपमान पनि खेपेका छन् । तर ती सबै कुरालाई समानताका लागि भनेर पाचाइ दिएर काममा सम्लग्न भएको स्थिति छ भने आज आएर महिलाहरुलाई यति दिएकै छ नि त भन्ने कुराले महिलाहरुको त्यो योगदानमाथि पार्टीले सम्मान गर्न नसकेको हो कि भन्ने अनुभूति हुन्छ । यो कितावको कथाहरु चाहीँ महिलाहरुले त्यतिबेला पार्टी जोगाउँन कसरी काम गरे भन्ने उल्लेख छ । अहिलेको स्थितिमा हिजो पार्टी कसरी बन्यो भन्ने कुराको जानकारी नेताहरुमा छैन जस्तो लाग्छ । किनभने म पनि ०३७ सालदेखि यो आन्दोलनमा लागेको मान्छे हो र मैले खोज्दै जाँदा जे पाएँ अधिकांश कुरा मलाई पनि थाहा थिएन । अहिलेको नेतृत्वमा रहेका बहुसंख्यक नेताहरु त मेरो पुस्ताका छन् । त्यसकारण यो किताब उहाँहरुले पढ्नुभयो भने त्यतिबेला पार्टी कसरी निर्माण भयो भन्ने कुरा बुझ्न मद्दतै पुग्छ ।’
निर्णायक स्थानमा महिला उपस्थिति र तहगत नेतृत्व हस्तान्तरणका विषयमा उल्लेख्य प्रगति हासिल गर्न नसकेपनि पार्टीभित्र महिलाको उपस्थिति र स्थानमा सकारात्मक परिर्वतन आएको लेखिका पाण्डे स्वीकार गर्छिन् । पार्टीको आन्तरिक सुसासनका लागि आवाज उठाउँदा आफु कारवाहीमा परे पनि अन्य कयौ महिला नेतृले आफ्ना कुरा राख्ने अवसर पाएकाले त्यसबाट आफु खुसी नै भएको उनले बताईन् । विगतमा पनि असहमति राख्नेहरु नेतृत्वको कारवाहीमा पर्ने र अन्ततः उनीहरुकै तर्क सही हुने गरेका दृष्टान्तलाई पुस्तकमा उल्लेख गरेकी लेखिका पाण्डेले पार्टी लोकतान्त्रिक प्रक्रियामा अघि बढ्ने हो भने आन्तरिक कारवाहीहरुलाई सामान्य रुपमा लिन सकिने बताईन् । तात्कालि समयमा नेतृत्वले गरेको कारवाही र अहिले आफु निलम्बनमा परेको विषयलाई कसरी हेर्नुभएको छ भन्ने न्युज एजेन्सी नेपालका सम्वाददाताको जिज्ञासामा लेखिका पाण्डेले यसरी स्प्ष्ट पारिन् —‘त्यतिबेलाको र अहिलेको अवस्था फरक छ । त्यतिबेला भित्र उठाइएका कुराहरु बाहिर थाहा हुँदैन थियो । मैले २०७५ सालमा कानुन अनुसार पार्टीमा कम्तिमा एक तिहाइ महिला हुनुपर्छ, ठूलो पार्टीले झन् धरै कानून मान्नुपर्छ भनेर कुरा उठाएको थिएँ । अहिले सबै दलमा कम्तिमा पनि त्यो कानून अनुसार महिलाहरु भएका छन् । मेरो कुरा तत्काल सम्बोधन भएन तर अहिले जति महिला कमिटीहरुमा बस्नुभएको छ त्यतिखेर कुरा उठाइएको थिएन र सञ्चारमाध्यमले प्रचार नगरी दिएको भए यो स्थिति हुँदैन थियो । मुल कुरा सुशासनको हो । राजनीतिमा नैतिकता पनि हुन्छ । हामीले नैतिकताको राजनीति गर्नुपर्छ भन्ने ढंगले कुरा उठाउँदा मलाई के भयो भन्ने फरक भयो तर आमरुपमा सकारात्मकै प्रभाव दिएको छ भन्ने मेरो बुझाइ हो, मलाई यसमा दुःख छैन । म र उषाजी लाई निलम्बनमा राखेर बैठकमा जान नपाए पनि यो तीन वर्षमा पहिलो पटक डेढ सय साथीहरुले पार्टी कमिटीमा आफ्ना कुराहरु राख्न पाउनुभयो । पार्टी भित्रको लोकतान्त्रिक प्रक्रिया नयाँ हिसाबमा अगाडि बढ्न शुरु ग¥यो भन्ने र पार्टीलाई ठिक ट्रयाकमा लैजान्छ भने केही समयको निलम्बनमा दुःख मान्नुपर्दैन । किनभने त्यही बेलाकै एउटा प्रसंग छ एक जना भूमिगत साथीले त्यसबेलाको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझ्दा उहाँले पार्टीमा १४ बुँदा आफ्ना असहमति राख्नुभयो र १४ बुँदे असन्तुष्टिकै कारण पाँच वर्ष पार्टी सदस्यबाटै निलम्वन हुन परेको थियो । तर पाँच वर्षपछि ती १४ बुँदामध्ये अधिकांश बुँदालाई पार्टीले स्वीकार गरेर उहाँ पार्टीमा पुनःस्थापित हुनुभयो र नेताकै हिसावले काम गर्न थाल्नु भयो । पार्टीमा यस्ता कुराहरु सामान्य नै हो भनेर लिनुपर्छ ।’
पार्टीलाई ठिक ट्रयाकमा लैजाने हो भने भुइँमान्छेका अपेक्षा सम्बोधन गर्नुपर्छ
पुस्तकले पार्टी गठनका समयमा भएका क्रियाकलाप समेटिएको पुस्तक ‘भुइँमान्छे’ ले तात्कालिन समयमा आमजनताले गरेको योगदानलाई मात्रै उजागर गरेको छैन पार्टी भित्रका क्रियाकलापलाई पनि बाहिर ल्याएको छ । तात्कालिन नेतृत्वको महिला समुदाय प्रतिको दृष्टिकोण, आन्तरिक प्रजातन्त्र, नेताहरुको छवि, जनताको नेताप्रतिको विश्वास र भरोसा लगायतलाई एकमुष्ट रुपमा समेट्ने प्रयास गरिएको पुस्तक ‘भुइँमान्छे’ले पुनः एकपटक नेतृत्वको ध्यानाकर्षण गराएको छ । पुस्तकमा समावेश दृष्टान्तहरुले आमसर्वसाधरण र नेताको छवि मात्रै होइन पार्टी भित्रका विभिन्न प्रकृतिका धारहरुलाई पनि उजागर गरेको छ । अन्तरसंघर्ष, नेतृत्वको स्वइच्छाचारी प्रवृत्तिहरु प्रमाणसहित उभिएका छन् । यसले लेखिका पाण्डेको निलम्वनको कारवाहीलाई थप प्रभाव पार्ने आशंका पनि उब्जाएको छ । कतिपयले यसलाई राजनैतिक दस्तावेजको रुपमा सकारात्मक लिए पनि पार्टी भित्रका आन्तरिक कुराहरु बाहिर ल्याएकोमा पाण्डेको थप आलोचना हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । नेतृत्वको सम्भावित प्रतिक्रियाका सम्बन्धमा पाण्डेमा चिन्ता भने छैन । उनी आफुले पार्टीले गर्नुपर्ने काम गरेको दाबी गर्छिन् । उनले भनिन् —‘त्यतिखेर के गरिन्थ्यो ? कसरी कारबाही गरिन्थ्यो ? कसरी अनुशासनका कुरा गरिन्थ्यो ? र आज पनि त्यस्ता कुराहरु देखिन्छ भने के गर्नुपर्छ भन्ने कुरालाई हामीले शिक्षाको रुपमा लिनुपर्छ । गलत प्रवृत्ति अहिले मात्रै होइन त्यतिबेला पनि थिए तर त्यतिबेला पार्टीेले कसरी व्यवस्थापन गथ्र्यो ? यो कुरा पार्टी अनुशासनसँग कसरी जोडिन्छ ? भन्ने कुरा बुझ्नेले सकारात्मक रुपमा बुझ्यो भने यो राम्रै कुरा हो । त्यतिबेला त समस्या समाधान हुन्थ्यो भने अहिले त हामी राज्य व्यवस्थामा छौँ, राज्यका कानून, संविधान, राज्यका संयन्त्रबाटै पनि गर्न सकिन्छ । हिजो भुमिगत रुपमा काम गथ्यौँ । आज लोकतान्त्रिक विधिबाट मतदानको प्रक्रियाबाट जनताको मन जितेर राज्यसत्तामा गएर समाजमा सामाजिक न्याय स्थापनाका लागि काम गर्नुपर्छ ।
। मैले पार्टी गठनमा आम सर्वसाधरणले पुराएको योगदानलाई खोतलेँ । उनीहरुको भुमिकालाई एकिकृत गरेँ । पार्टीले गर्नुपर्ने काम गरेँ । यस्ता काम गर्दा त पार्टीले एक्सन लिन्छ भने के गर्दा चाहिँ लिदैन भन्ने प्रश्न हो मेरो । पार्टीले गर्न नसकेको अवस्थामा वा पार्टीले पनि गर्ने भनेको ठाउँमा मैले पनि अलिकति सहयोग गरेँ भन्ने लाग्छ ।
इतिहासबाट शिक्षा लिने र सिक्ने भन्ने कुरामा यसले नयाँ खालको काम गर्नका लागि ढोका खुलाउन सक्छ । ‘भुइँमान्छे’ बाट नयाँ साथीहरुले भुमिगत कालको जानकारी पाउनुहुनेछ । भुमिगत भएर काम गर्नुभएका साथीहरुले त अनुभव नै गर्नुभएको छ । उहाँहरुले एकपटक स्मरण गर्नेतिर लाग्नुपर्छ । अब पार्टीलाई ठिक ट्रयाकमा लैजाने हो र हामीले भनेकै दिशातिर अघि बढ्ने हो भने यसले सबैलाई अगाडि बढ्न सहयोग गर्छ भन्ने मेरो विश्वास हो ।’
झुपडीमा बनेको पार्टी, पाँचतारे होटलमा निर्णय
निलम्वित स्थायी समिति सदस्य पाण्डेले २०७८ साल बैशाखको दोश्रो साता एक टेलिभिजन अन्तर्वार्तामा भनेकी थिईन् — ‘झुपडीमा बसेर बनाएको पार्टीको समस्या पाँचतारे होटलमा बसेर गरिएको वार्ताबाट किन मिल्थ्यो ? झोेपडीमा बसेर वार्ता गरेको भए सायद मिल्थ्यो होला । ’ यही अन्र्तवार्ता पछि उनमा साच्चै तात्कालिन समयमा झुपडीभित्रबाट सहयोग गर्ने आममान्छेले पार्टी बनाउन निर्वाह गरेको भुमिका खोज्ने हुटहुटी जाग्यो ।
काठमाडौंको पाँचताले होटलमा पार्टी एकताका बारेमा वर्तमान अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली) र १५ बर्ष पार्टीको नेतृत्व गरेका नेता माधवकुमार नेपाल ( हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष ) बीच भएको वार्ता असफल भएपछि उनले एक टेलिभिजनमा दिएको अभिव्यक्तिमा धेरै कार्यकर्ताबाट प्रतिक्रिया पाइन् । त्यसपछि उनी नेकपा माले र कोअर्डिनेसन कमिटीको धरातल खोज्न राजधानी बाहिर निस्किइन् । उनले तात्कालिन समयमा केन्द्रीय तहबाट सञ्चालन भएका मुलुकभरका कार्यक्रमहरुमा आमसर्वसाधरणको भुमिका खोज्न लुम्विनी, गण्डकी, कोशी र बागमति प्रदेशका विशेष स्थानहरुमा पुगिन् ।
भुइँमान्छे तयार हुनुको अन्तर्य लेखककै भनाईमा ‘ दुई वटा पार्टी एक भएर त्यसमा अलिअलि विवादहरु सिर्जना भइरहेका थिए । अदालतले नेकपा एमाले र नेकपा एकीकृत माओवादी केन्द्रलाई अर्को नाम लिएर आउ होइन भने पहिलाकै स्थानमा तिमीहरु जाउ भनेपछि नेकपा एमाले भित्र फेरि विवाद भयो । त्यतिबेलाका अध्यक्ष (अहिलेपनि अध्यक्ष हुनुहुन्छ) र अगाडिका अध्यक्ष माधवकुमार नेपाल जस्ले १५ वर्ष पार्टी प्रमुख भएर काम गर्नुभयो । उहाँहरुबीच पाँचतारे होटलमा वार्ता भएको थियो जुन असफल भयो । लगतै एउटा टेलिभिजनको टल्क सोमा ‘वार्ता किन मिलेन ?’ भन्ने प्रश्नमा मैले झुपडीमा बसेर बनाएको पार्टी पाँचतारे होटलमा बसेर भएको वार्ता किन मिल्थ्यो ? जहाँ पार्टी निर्माण गरेको हो त्यहीँ ठाउँमा र त्यहीँका जनताको कुरा सुनेर वार्ता गरेको भए कुरा मिल्थ्यो र पार्टी एकता पनि कायमै रहन्थ्यो’ भनेँ । त्यसपछि भोलिपल्टदेखि थुप्रै श्रमजीबी साथीहरुले फोन गर्नुभयो । उहाँहरुले हामीलाई पनि सम्झिने कोही त रहेछ भन्नुभयो । उहाँहरुको यो कथा त कतै लेखिएको छैन । नेताहरु पार्टी मैले बनाएको कि तैले बनाएको भनेर बहस गर्दै हुनुहुन्छ । पार्टी बनाउने वास्तविक मान्छे चाहीँ भुइँमान्छे हुन् । उहाँहरुलाई नलुकाइ दिएको भए, बास नदिएको भए, खान नदिएको भए र उहाँहरुले सम्पर्क नगरी दिएको भए त यो पार्टी बन्ने थिएन । त्यसैले यसको खोजी गर्ने सोचेँ । यो धेरै भाष्ट छ सबै सक्ने स्थिति भएन । जहाँ केन्द्रिय तहका कार्यक्रम बैठक भएका थिए त्यहाँ बसेर कसले पार्टी निर्माणमा सहयोग गर्नुभयो, कस्ता मान्छे सहभागी हुनुभयो भन्ने हिसाबमा खास गरेर गण्डकी, लुम्बिनी, जनकपुर, महोत्तरी, सिन्धुली कालापानी, झापा, इलाम, विराटनगर जहाँ कोके (कोअर्डिनेशन केन्द्र) पनि बन्यो, नेकपा माले पनि बन्यो र ती क्षेत्रहरुमा गएर त्यतिखेर सहभागी भएका साथीहरुसँग कुराकानी गरेर तयार भएको हो ‘भुइँमान्छे ।’
पुस्तकका सम्पादक होम भट्टराईले ‘भुइँमान्छे’ आम मान्छेको कथा जाडिएको राजनीतिक दस्तावेज भएको बताए । पुस्तकले नेकपा एमालेको इतिहास देखाएपनि राजनीतिक प्रवृति, आमसर्वसाधरणको अपेक्षा र दलहरुको पछिल्लो चरित्रका बारेमा समग्र देशको रााजनीतिक अवस्थालाई चित्रित गरेकाले अन्य राजनीतिक दलहरुका लागि पनि महत्वपुर्ण रहेको बताए । पुस्तकलाई जिवन्त बनाउन लेखकले इतिहासका दस्तावेज खोज्न अत्यन्तै मेहनत गरेको पनि उहाँले उल्लेख गर्नुभयो । सम्पादक भट्टराईको दृष्टिमा ‘भुइँमान्छे’— ‘आम मान्छेको कथा जाडिएको राजनीतिक दस्तावेज हो । यसमा कम्युनिष्ट आन्दोलनका इतिहास भेटिन्छ एकातिर, अर्कोतिर कम्युनिष्ट आन्दोलनको पनि मुलधारको रुपमा वि.स. २०२८ सालपछि नेतृत्व गरिरहेको कोके, माले हुँदै २०४७ साल सम्म पार्टी निर्माणमा क–कसले कस्तो भुमिका खेले भन्ने कुरा प्रष्ट पार्छ । यो ठ्याक्कै पढ्नुपर्ने त हामी पछिल्लो पुस्ताले हो । किनभने अगाडिको पुस्तामा के भएछ भन्ने इतिहास जहाँकँही भेटिदैन । यही सम्पादनको शिलशिलामा पनि तथ्यपरिक्षणका लागि विभिन्न दस्तावेजहरु खोजि गर्दा दस्तावेज नभेटिएको अवस्था सिर्जना भयो । यो पुस्तकले दस्तावेजको काम गरेको छ । धेरै अलिखित कुराहरु लेख्य रुपमा आएका छन् । लेखकले यसमा धेरै मेहेनत गरेको देखेको छु मैले । यो साझा पुस्तक हो । समग्र देशको राजनीतिक अवस्था कस्तो छ भन्ने पनि प्रष्ट देखिन्छ । नेपाली राजनीतिक आन्दोलन शुरुबाट कसरि अगाडि बढ्यो ? त्यसको चरित्र कस्तो थियो ? अहिले त्यो कुन रुपमा गएको छ ? भन्ने देखिन्छ । सामान्य आम मान्छेले त कथाको रुपमा देख्ने कुरा हो । पार्टी बनाउन संघर्ष गरेको वर्गले त जहाँसुकै आफूलाई भेट्छ । त्यसैले राजनीतिक पार्टीको विकास हेर्ने हो भने सबै पार्टीका लागि महत्व राख्न पुस्तकले छ । कम्युनिष्ट आन्दोलनको हिसावले हेर्ने हो भने कम्युनिष्टहरु कोके, माले हुँदै एमाले भएकाहरुले पढ्नुपर्ने पुस्तक हो । यो पार्टीलाई मजबुत बनाउन कसले, कसरि भुमिका खेल्यो भनेर पछिल्लो पुस्ता एमाले भित्रै पनि कार्यकर्ताको रुपमा बसेकाले पनि यो पुस्तक पढ्नुपर्छ । त्यसपछि मात्रै पार्टी कसरि बनेको हो र त्यसको महत्व के छ भन्ने थाहा पाइन्छ । साथै त्यो पार्टी बनाउनेहरुप्रति हामीहरुको दायित्व के हुन्छ भन्ने कुरा चाहीँ यो पुस्तकले प्रमाणित गर्छ । ’
पुस्तकमा विभिन्न उपशिर्षकमा तात्कालिन आन्दोलन र तीनमा स्थानीय आमसर्वसाधरणको भुमिकालाई उल्लेख गरिएको छ । विभिन्न स्वरुपमा यसअघि नै प्रकाशित भएका कतिपय सन्दर्भहरु प्नि पुस्तकमा उल्लेखित छन् । अधिकांश सन्दर्भहरु लिखित रुपमा आएका छन् । कतिपय घटनामा संलग्न पात्रहरुलाई चातुर्यतापूर्वक गोप्य राखिएको छ । घटना प्रमाणित गर्ने सन्दर्भमा लेखिकाले धेरै पात्रहरुसंग वहुपक्षिय वार्तालापलाई प्राथमिकतामा राखेकि छन् ।
—न्युज एजेन्सी नेपाल