"नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल र बैज्ञानिक जीवनशैली हो जस अनुसार आफूलाई ढाल्न चेतनाको एउटा उपल्लो स्तर नै चाहिन्छ भन्छु म त नास्तिकता चेतनाको उपल्लो स्तर किन हुन सक्छ? किनभने नास्तिकले विवेकमा आधारित निर्णय गर्छ। सामान्यतया प्रमाण, तर्क, र वैज्ञानिक सोचमा आधारित हुन्छ। यस्तो सोंच मानिसको मानसिक स्वतन्त्रता र आलोचनात्मक क्षमताको सूचक हो।अन्धविश्वासको अस्वीकार गर्छ । परम्परागत अन्धविश्वास र निराधार मान्यतालाई चुनौती दिन सक्छ, जुन सामाजिक रूपान्तरणको लागि सकारात्मक संकेत हो।मानवकेन्द्रित नैतिकताले भरिपुर्ण हुन्छ । नास्तिकतामा नैतिकता ईश्वरको डर होइन, मानव कल्याण र सह-अस्तित्वमा आधारित हुन्छ।यसले बढी परिपक्व सामाजिक चेतनाको झल्को दिन सक्छ।
तर नास्तिकता सधैं उपल्लो चेतना हो भन्ने निश्चय छैन, किन? किनकी कतिपय अन्ध-नास्तिकता पनि हुन सक्छ जुन केवल खोक्रो विद्रोह हो, चेतनाको विकास होइन। यसो त धार्मिक मानिसहरू पनि उच्च चेतनामा पुग्न सक्छन् धेरै धार्मिक वा आध्यात्मिक व्यक्ति वैज्ञानिक, तर्कशील, र उदार मानसिकता भएका हुन्छन्। चेतनाको स्तर व्यक्ति विशेषको दृष्टिकोणमा भर पर्छ, न कि उनी आस्तिक हुन् वा नास्तिक। तर यदि आधुनिकता, बैज्ञानिकता, तर्क, प्रमाण, खोज र यथार्थ जस्तो बिषयलाई आधार बनाउने हो भने नास्तिकता चेतनाको उपल्लो स्तर नै हो।
जब एक शिशु जन्मन्छ उसले कुनै धर्म बोकेको हुँदैन। ऊ न हिन्दू हुन्छ, न मुस्लिम, न ख्रीष्टीयान, न बौद्ध। न त उसको कुनै जात नै हुन्छ, ऊ केवल मानव हुन्छ। जन्म एउटा संयोग हो । तर समय सँगै उसलाई जात, धर्म, परम्परा, कर्मकाण्ड जस्ता सामाजिक संरचनाले परिभाषित गरिन्छ। तर जब यही मानव प्रश्न गर्न थाल्छ किन म पूजा गर्छु? कसरी सृष्टि भयो? के मृत्युपछि पनि जीवन छ? तब ऊ खोजको बाटोमा लाग्छ। र यही बाटो नास्तिकताको बाटो हो जुन नकारताको होइन, विवेक र मानवीय मूल्यको पुनर्पुष्टि हो।
इतिहासको गहिराइमा नास्तिकता
चार्वाक: भारतीय दर्शन
इसापूर्व छैठौँ शताब्दीमा भारतीय उपमहाद्वीपमा जन्मिएको चार्वाक दर्शनले वेद, ईश्वर, आत्मा, र पुनर्जन्म सबैको अस्वीकार गर्यो। चार्वाक भन्थे, ऋणं कृत्वा घृतं पिबेत्, यावत् जीवेत् सुखं जीवेत्।” (ऋण गरेर भए पनि घ्यू खानु, जबसम्म बाँचिन्छ तबसम्म सुखसँग बाँच) उनी भन्थे मरेपछि केही रहँदैन। जिउँदा छँदै आनन्द खोज। यो दर्शन आजको आधुनिक भौतिकवादभन्दा धेरै अघिको आत्मनिर्भर जीवनबोध थियो।
बुद्ध:
नेपालको गौरव गौतम बुद्धलाई कतिपयले धर्मगुरु मान्छन्, तर उनले आफूलाई कहिल्यै ईश्वरको दूत भनेनन्। बुद्धको शिक्षामा ईश्वरको कुनै स्थान नै छैन। उनले भन्थे अप्प दीपो भव: आफैँ आफैँलाई दियो बनाऊ।बुद्धले सत्य, करुणा, मध्य मार्ग र व्यक्तिगत अनुभवको महत्त्व दिए। उनी शुद्ध विवेकको आवाज थिए । जसले कर्मकाण्ड होइन, आत्मबोधमा आधारित जीवनको खोज गराए। बिगतमा हेर्ने हो यस्ता कयौं महान मानवहरु छन् जसले नास्तिकता र भौतिकवाद जस्ता जीवनशैलीलाइ जोड दिए तर समयकाल सँगै यस्तो विचारलाई धर्मले दबाउँदै गएको इतिहास छ।
मध्यकाल र नास्तिकतामाथि दमन:
विश्वका धेरै समाजहरूमा नास्तिक सोंचलाई खतराको रूपमा हेरियो । युरोपमा वैज्ञानिकहरू र तार्किक चिन्तकहरूलाई विधर्मी ठहर गरी जिउँदै जलाइन्थ्यो। भारतमा पनि तर्कभन्दा ‘श्रद्धा’ बलियो बनाइयो।इस्लाम र इसाई समाजहरूमा त झन् नास्तिकहरुलाई शत्रु नै घोषित भयो। तर केही विद्रोही आवाजहरू दबिएनन् । ग्यालिलियो, ब्रुनो, भगतसिंह, उमर खैय्याम, नजरुल इस्लाम आदि । यी सबै नास्तिक वा संशयवादी थिए, जसले सत्यका लागि मूल्य चुकाए।
आधुनिक युग: विज्ञान र मानवता सँगको सहयात्रा
१७-१८ औँ शताब्दीसँगै युरोपमा साइंटिफिक रिभोल्युशन आयो।
डार्विनले मानव उत्पत्तिको वैज्ञानिक सिद्धान्त दिए, नित्शेले भने – "God is dead", मार्क्सले धर्मलाई "जनताको अफिम" भने। नास्तिकता अब व्यक्तिगत नकार होइन, सामाजिक विवेक बन्यो। आज संसारभर सेक्युलर, ह्युमनिस्ट, रैशनलिस्ट जस्ता आन्दोलनहरू बढ्दैछन्। यी सबै नास्तिक चिन्तनकै रूप हुन् जसले आस्थाभन्दा उत्तरदायित्वमा विश्वास गर्छ।
नेपालको सन्दर्भमा नास्तिकताको अवस्था कस्तो छ त?
नेपालमा नास्तिकता अझै ‘संकोचको शब्द’ हो। यहाँ धर्म छाड्नु भनेको संस्कार छाड्नुजस्तै लिइन्छ। तर यथार्थ के हो भने, आजको युवा वर्ग, शिक्षित मध्यमवर्ग, वैज्ञानिक दृष्टिकोण भएका वर्गहरू बिस्तारै विवेकको यात्रामा छन्। उनीहरू चाडपर्वमा भाग लिन्छन् तर अन्धविश्वासमा होइन परम्पराको सम्मानका रूपमा मात्रै । धार्मिक भन्दा मानवीय बन्न खोज्छन्। जस्तै दशैंको बेला पारिवारिक जमघट भएपनि बलि दिने, टीका लगाउने जस्तो परम्परा त्याग्दै गएका छन् । यो पनि समय सँगै सबैले बुझ्दै छन् र आफ्नै आधुनिक संस्कारको विकास गर्न जरुरी छ। संस्कार र संस्कृति भनेको मानव प्रधान हुनुपर्छ र यो समयानुकूल हुनुपर्छ। बुद्धको देशले अब बुद्धको सोचलाई पुनः आत्मसात् गर्नुपर्ने बेला आएको छ ईश्वर होइन, विवेक प्रधान बनाउने।
नास्तिकताको सकारात्मक पक्षहरू
- तर्कशील सोचको विकास:
नास्तिकता प्रायः वैज्ञानिक सोच, प्रमाणको खोज, र आलोचनात्मक दृष्टिकोणमा आधारित हुन्छ।
- मानसिक स्वतन्त्रता:
ईश्वरको डर वा धार्मिक अनुशासनबाट स्वतन्त्र भएर स्वतन्त्र रूपमा सोंच्न र निर्णय गर्न सकिन्छ।
- मानवकेन्द्रित नैतिकता:
नैतिकता ईश्वरको डर होइन, मानव हित, करुणा, र सामाजिक सहअस्तित्वमा आधारित हुन्छ।
- प्रश्न गर्ने संस्कार:
नास्तिक दृष्टिकोणले परम्परा, धर्म, र सत्ता प्रतिको अन्धभक्तिको सट्टा प्रश्न गर्ने संस्कार उत्पन्न गर्छ।
- समतामूलक दृष्टिकोण:
नास्तिकता जात, लिंग, धर्मको विभाजनमा आधारित असमानता अस्वीकार गर्छ, र समता तथा वैज्ञानिक मानवतावादलाई प्रोत्साहन गर्छ।
- ज्ञानप्रेम र वैज्ञानिक सोचको प्रवर्द्धन:
नास्तिकहरू प्रायः शिक्षा, विज्ञान र तर्कमा आधारित जीवनशैली रोज्छन्।
- अन्धविश्वास र रूढिवादको खण्डन:
नास्तिकता अन्धविश्वास, तान्त्रिकता र बिना प्रमाणका धार्मिक अभ्यासहरूको आलोचक हुन्छ।
- सार्वभौमिक मानवता:
धर्मको सीमाभन्दा माथि उठेर सबै मानिसलाई एउटै दृष्टिले हेर्ने दृष्टिकोण विकास हुन्छ।
- प्रकृति र जीवनप्रतिको यथार्थवादी दृष्टिकोण:
नास्तिकता जीवनलाई एउटा भौतिक र जैविक प्रक्रिया मान्छ, जसले मृत्यु र जीवनप्रतिको यथार्थ स्वीकार गर्न सहयोग गर्छ।
- व्यक्तिगत उत्तरदायित्वको भावना:
नास्तिकले जीवनका कर्महरू र तिनका परिणामहरूका लागि आफूलाई जिम्मेवार मान्छ, ईश्वर वा भाग्यलाई होइन। उदाहरण दिने हो भने सयौं बन्न सक्छन् तर सरल र सटिक यहि हुन् जुन हामीले बुझ्न जरुरी छ ।
नास्तिकता न नास्तिक हो, न निषेधात्मक। यो। यो विवेक हो, तर्क, वैज्ञानिकता र मानवतामा आधारित जीवनदृष्टि। बुद्धले भनेझैँ धर्म केवल मान्ने कुरा होइन, बुझ्ने कुरा हो। जब बुझिन्छ तब ब्याख्यात्मक धर्मको जरुरत पर्दैन। नास्तिकता भनेको धर्मको विरोध होइन, अन्धविश्वासको विरोध हो। यो मानव स्वतन्त्रताको उच्चतम अभिव्यक्ति हो । जहाँ व्यक्ति स्वयं सोंच्छ, निर्णय गर्छ र उत्तरदायी बन्छ।
अन्ततः नास्तिकता त्यो उज्यालो हो, जसले अन्धविश्वासको सुरुङ चिर्छ र एक विवेकशील, वैज्ञानिक र मानवीय समाजको ढोका खोल्छ।