विराटनगर । विराटनगर विमानस्थलको सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई जना हवल्दार बुधबार राति दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकाे छ। कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकस्थित सडक किनारमा रोकेर राखिएको बा १२ प १३०४ नम्बरको कारमा को ३५ प ५०६० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार राति १०:१० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार नेपाली सेनाका हवल्दारहरु बर्दिया बासगढी नगरपालिका–१ घर भएका अन्दाजी ४० वर्षीय भरत विष्ट र दार्चुलाको सिप्टी गाउँपालिका–२ घर भएका अन्दाजी ३९ वर्षीय मानसिंह थकुवा घाइते हुनुभएकाे हाे।
विष्ट मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ। विष्ट र थकुवा विमानस्थल सुरक्षा गार्ड विराटनगरमा कार्यरत नेपाली सेनाका हवल्दार हुनुहुन्छ। गम्भीर घाइते दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी दाहालले बताउनुभयाे।
दुर्घटनालगत्तै प्रहरीले कार र चालक विराटनगर–७ का राघव राठीलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको दाहालले बताउनुभयाे।