म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधनबीच बाटोमै रोकिएको बताउनुभयाे। उहाँका अनुसार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक पनि अवरुद्ध बनेको छ। बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताउनुभयाे। आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताउनुभयाे।
रासस