बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँकी २८ वर्षीया अंकिरा रोकाया भालुको आक्रमणमा परी गम्भीर घाइते हुनुभएकाे छ। घरदेखि करिब २ किलोमिटर टाढा पर्ने दखोला भन्ने स्थानमा स्याउला काट्न गएको बेला बाटोमा भालुले आक्रमण गरेको हो।
भालुले रोकायाको टाउको, दायाँ अनुहार, छाती र दायाँ खुट्टामा टोक्दा गम्भीर चोट लागेका कारण उहाँको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल बझाङका डाक्टर ओमजंग रावलले जानकारी दिनुभयाे।
घटना आज बिहान ८ बजेको समयमा भएको हो। भालुको आक्रमणपछि घाइते रोकायालाई उहाँका आफन्तहरूले तत्काल जिल्ला अस्पताल बझाङ पुर्याएका थिए। यसअघि पनि बझाङका विभिन्न स्थानमा जंगली जनावरको आक्रमणका घटना दोहोरिइरहेको छ।
यस्ता घटनाबाट बच्नका लागि स्थानीयले सावधानी अपनाउनु पर्ने र जंगली जनावरहरूको रोकथाम तथा व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको स्थानीयवासीले बताउनुभएकाे छ।
annapurnapost