गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको हो।
परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा आयोजना गरिएको हात्ती पूजा आयोजक चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयाे।
'हिन्दु धार्मिक मान्यताअनुसार हात्तीलाई गणेश भगवानको प्रतिकका रूपमा मानिने भएकाले मंगलबार पारेर पूजा कार्यक्रम राखेका हौुं, उहाँले भन्नुभयाे, ''पूजाका माध्यमबाट हात्ती मानवबीच आत्मीयता बढाउँदै दिगो संरक्षणमा टेवा पुग्ने हाम्रो बिस्वास छ।
गुरुवाबाट हात्तीको पूजा गरिएको छ। गुरुवाले पूजा मार्फत जंगली हात्तीलाई जंगल बाहिर आउन नसक्ने गरी विधिपूर्वक झारफूक गरेर मन्त्रद्वारा बाधेको अध्यक्ष आचार्यको भनाइ छ। ''पूजापश्चात हात्तीलाई फलफूल, उखु, मिष्ठान्न भोजन गराएका छौं।''
निकुञ्जको आर्थिक सहयोगमा आयोजित हात्ती पूजा कार्यक्रममा संरक्षणका क्षेत्रमा कार्यरत एक दर्जन संस्थाहरूले सहकार्य गरेका छन्। ''हात्ती पूजा कार्यक्रममार्फत पर्यापर्यटनलाई समेत सहजीकरण हुने अपेक्षा छ,'' उहाँले भन्नुभयाे, ''आगामी दिनमा यसलाई थप भव्य र प्रभावकारी बनाउँदै लैजाने तयारी गर्दैछौं।''
annapurnapost