बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहनुभएकाे छ ।
गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयाे ।
पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उहाँले बताउनुभयाे । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।