संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरुलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा भिजिट भरतपुर २०२४ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्र कच्चा पदार्थ भएकाले यसबाट नेपालले धेरै कुराहरु बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पर्यटनका सम्भावनालाई विकासमा जोड्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा पर्यटन नीतिहरु पनि कारक रहेको भन्दै अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको बताउनु भयो । उहाँले पर्यटकहरुलाई नेपालमा ल्याएर धरै दिन कसरी राख्ने र के देखउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटक भनेको एउटा उद्योग पनि हो । यो कच्चा पदार्थ हो । हामीले यसबाट धेरै कुराहरु बनाउन सक्छौँ । हाम्रा सम्भावनालाई हामीले विकासमा नजोड्ने वा सम्भावनाको उपलब्धि कतै न कतै भनेजसरी हाम्रो हातमा नआउने भनेको हाम्रा कतिपय नीतिहरुले पनि हो । पर्यटन ऐन पनि संशोधनको प्रक्रियामा छ । हामी त्यसलाई विज्ञको सुझाव लिएर लामो दशकसम्म आम मान्छेको जीवनमा सरल बनाउने, आम पर्यटकहरुले त्यसलाई सरलीकृत गरेर अनुभव गर्नेगरी संशोधनको प्रक्रियामा अघि बढेको छ । पर्यटकहरुलाई नेपालमा ल्याएर धरै दिन राख्ने कुरामा यसले मद्दत गर्नेछ । पर्यटकहरु एउटा चिजमा टार्गेट गरेर आइसकेपछि कहाँ लैजाने भन्ने लक्ष्य राख्नुपर्छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ ।’
राज्यमन्त्री सिर्पालीले प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो ।