शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो । काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गरी प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको जानकारी गराइएको हो । समितिको सदस्यहरुमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दीपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री,रमेश भट्टराई, मदन उप्रेती र नरेश सेढाइ रहनुभएको छ । तदर्थ समितिका संयोजक बस्नेतले फेकोनले मनोमानी ढंगले संस्थाको गतिविधि गरेपछि बाध्य भएर नयाँ संस्था स्थापना गर्नुपरेको बताउनु भयो । उहाँले संस्थाको पारदर्शितामाथि प्रश्न उठाउँदा आफूहरुलाई गलत बनाइएको बताउनु भयो ।
संयोजक बस्नेतले भन्नुभयो, ‘आज भन्दा अगाडी हामी कुनै संस्थामा आवद्ध थियौँ । त्यो संस्थामा हाम्रो माग, विधि, प्रकृया, अनुशासन मान्नुपर्छ भन्ने थियो । संस्था र एकाईमा फरक हुन्छ । हामी एकाई थियौँ । संस्था, संस्था थियो । हामिले भन्यौँ संस्थाका लागि आएको अवसर समानुपातिक ढंगले वितरण गरौं । तर, टाठा बाठाले अवसर आफूखुशी गरिसकेका हुने रहेछन् । हामी परामर्श व्यवसायी र संस्था हौं । कुनै एउटा जीवन्त संस्थाको कागजपत्र कहाँ हुनुपर्ने हो साथी हो । हामीले त्यो संस्था छोड्नुको विविध कारणहरु छन् । आधिकारीक कुनैपनि कागजपत्रहरु कार्यालयमा हुँदैन थिए । तर, हामीले कागजपत्रहरु संस्थामा हुनुपर्छ भन्दा हामी गलत भयौँ । हामीलाई गलत बनाइयो । गलत बनाइन खोजियो । संस्था चलाउने भनेको विधि र विधानले हो । संस्था कसरी चलेको छ ? संस्थाको विधान के हो ? भनेर स्वयं संस्थाका सदस्यहरुलाई थाहा हुनुपर्छ । आज भन्दा दुई वर्ष अगाडी म फेकोनको प्रथम उपाध्यक्षमा निर्वाचित भएर आएको थिए । मैले धेरै पटक अनुशासनको कदर गरौँ भन्दा त्यहाँ हामीलाई सहयोग भएन । हामीले बारम्बार संस्था सुधार गरौं भन्दा उहाँहरुले सहयोग गर्नुभएन ।’
उहाँले संस्थाका सदस्यहरुलाई समेत गुम्राहमा पार्ने गरिएको र सहयोग नभएपछि बाध्यतावश नयाँ संस्था स्थापना गर्नुपरेको बताउनु भयो ।