काठमाडौं I यूएईको शारजाहमा आयोजित १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका नरेन साउदले २६ रन बनाउँदै टोलीलाई सुदृढ बनाए भने कप्तान हेमन्त धामीले नटआउट २२ रनको महत्वपूर्ण योगदान दिए। अर्जुन कुमालले २१ रन बनाए। अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले समान ३/३ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमै अलआउट भएको थियो। अफगानिस्तानका फैसल खानले उत्कृष्ट प्रदर्शन गर्दै ५२ रन बनाए। नेपालका उनिश ठकुरी र सन्तोष यादवले समान ३/३ विकेट लिए। कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए।
समूह चरणमा नेपाल श्रीलङ्कासँग पहिलो खेल र बङ्गलादेशसँग दोस्रो खेलमा पराजित भएको थियो। त्यस्तै, अफगानिस्तान पनि बङ्गलादेश र श्रीलङ्कासँग पराजित भएको थियो।
यो जितले नेपालका युवा खेलाडीहरूको प्रदर्शनमा उत्साह थपेको छ।