काठमाडौं । १० वर्षदेखि चोरी गर्दै आएका एकजना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिक-१२ घर भई ललितपुर महानगरपालिका-३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।उनी विगत १० वर्षदेखि चोरीमा संलग्न थिए। लामो समयदेखि प्रहरीले खोजीरहेको भएपनि उनी पक्राउ पर्न सकेका थिएनन् ।अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित शाखा कार्यालय जावलाखेलको टोलीले धापाखेलबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।
यसअघि उनीविरुद्ध दुई वटा मुद्दा चलेको सीआरएस क्रिमिनल रेकर्ड सिस्टममा देखिएको प्रहरीले बताएको छ । त्यसपछि पनि उनी चोरीका घटनामा संलग्न थिए ।
उनीबाट प्रहरीले चामा चरेसका विभिन्न ३४ थान भाडा , डिजिटल क्यामेरा ३ थान, फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कु लगायत १३ थान हतियार बरामद गरेको छ ।यस्तै विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक-एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको छ ।उनले हतियार देखाएर चोरीदेखि लुटपाटका श्रृखलाहरु चलाएको प्रहरीले दाबी गरेको छ ।