काठमाडौं । आपराधिक लाभ लिने उद्देश्यले विभिन्न व्यक्तिलाई भेटी झुठा मुद्दा लगाइ पैंसा असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमलामाई -१३ सिन्धुलीका हाल सानोठिमी बस्ने आयुष्मा भन्ने आसिका रजल मगर र भिमेश्वर ५ दोलखाका हाल काठमाडौंको तारकेश्वर बस्ने राजु खत्री रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयाे।
मगर र खत्रीले पीडितलाई डर,धम्की तथा त्रास देखाइ मोलमोलाइ गरी विभिन्न समयमा ४० लाख बराबरको रकम असुल गरेको पाइएको छ। उनीहरुले विभिन्न समूह बनाइ सामाजिक सञ्जालमार्फत् केटी परिचालन गरी केही पुरुष व्यक्तिहरूलाई भेट्न लगाइ रकम असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरूष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लागि भेटघाट गरेको पाइएको छ। पीडित व्यक्तिहरूमाथि निगरानी राखी निजको घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायत सम्पूर्ण विवरणहरू प्राप्त गरी डायरीमा रेकर्ड राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवैजनालाई आपरधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र अनुसन्धा जारी रहेको प्रहरीले जनाएको छ।