वीरेन्द्रनगर । बलात्कार गरेर हत्या गरिएकी कालिकोटकी निरु विकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँकी निरु विकको हत्या भएको डेढ वर्षपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका–६ दाहाँ बस्ने ३० वर्षकी कमला विक र सोही ठाँउका ४७ वर्षीय अने नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनुभयाे।
दुई जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बताउनुभयाे। डीएसपी रिमालले घटना अति नै जटिल भएकाले प्रहरीलाई अनुसन्धान गर्न समय लागेको बताउनुभयाे। २०७८ साल भदौ ४ गते मेला हेर्न गएकी १६ वर्षीया किशोरी निरु विकलाई बलात्कार गरी शरीरको आधा भाग कपडा मात्र रहेको अवस्थामा भदौ ७ गते घरनजिकैको मकैबारीमा शव फेला परेको थियो।
मकैबारीमा रहेको शव स्यालले आधा शरीर खाइसकेको अवस्थामा फेला परेकाले प्रहरीलाई अनुसन्धान गर्न जटिल बनेको हो। प्रहरीले घटना बलात्कारपछि हत्या भएको अनुमान गरेको थियो।