काठमाडौं । झापाबाट चार युवायुवतीलाई प्रहरीले अवैध लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवा र दुई युवती छन् । सोमबार साँझ सवा ६ बजेतिर भारतबाट प्रदेश १–०१–१६ प ९००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका बेला दुई युवालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यतिबेला झापाकै अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण गिरी र सोही नगरपालिका–८ का २५ वर्षीय सुमन राजवंशी पक्राउ परेका थिए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको झापाका डीएसपी कृष्णकुमार चन्दले बताउनुभयाे । उनीहरुबाट १० ग्राम १५ मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।
त्यसैगरी भारतबाटै नेपालतर्फ आउँदै गरेका दुई युवती लागु औषधसहित पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ कि १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षकै इन्दिरा लिम्बु पक्राउ परेका छन् । उनीहरूबाट १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
Pages