धनगढी । परराष्ट्रमन्त्री भएपछि पहिलो पटक धनगढी आएकी आरजु राणा देउवालाई कार्यकर्ताहरूले भब्य स्वागत गरेका छन्। बुधबार विहान धनगढी विमानस्थलममा कार्यकर्ताहरूको ठूलो भीड लागेको थियो। कांग्रेस एमालेको गठबन्धनको सरकारमा शक्तिशाली मन्त्री बनेपछि उहाँको धनगढीमा भब्य स्वागत गरिएको हो। धनगढी विमानस्थल पुगेका नेता कार्यकर्ताहरूलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।
मोटरसाइकल र कारमा पुगेका कार्यकर्ताहरूले नाराबाजी गर्दै परराष्ट्रमन्त्री देउवालाई विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म र्याली गरेर पुगाएका थिए। मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।
मन्त्री राणा धनगढीस्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आउनुभएकाे हाे। आरजुले हरेक वर्ष धनगढीस्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउँदै आउनुभएकाे छ। विमानस्थलबाट आफ्नो निवास पुग्नुभएकी देउवाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरी गौरा बिसर्जन गर्नुभएकाे छ। पञ्चमीदेखि सुदूरपश्चिमका हरेक घरमा विरुडा भिजाएर गौराको औपचारिक सुरुवात गरिन्छ। विरुडा भिजाउने र धुने कार्य उहाँका आफन्तहरूले गरे पनि बिसर्जनका लागि भने देउवा आफैं आउनुभएकाे हाे।
मन्त्री राणाले गौराको पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गौरा पर्वले सामाजिक एकता र भाइचाराको सम्बन्ध स्थापित गरेको बताउनुभयाे। ‘गौरामा परम्परागत गीत खेल्दा या देउडा खेल्दा एक आपसमा हात जोडेर खेलिने हुँदा त्यसले नै सामाजिक एकतालाई जोडेको आभास गराउँछ,’ उहाँले भन्नुभयाे। उहाँ हरेक वर्ष गौरा मनाउन धनगढीस्थित घरमा आउने गर्नुभएकाे छ। ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौं। यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएकी हुँ,’ देउवाले भन्नुभयाे ।
२०७४ सालको निर्वाचनमा उनलाई पर्यटक उमेदवारको आरोप लागेपछि उहाँले अहिलेका धनगढीका मेयर गोपाल हमालको घर किन्नुभएकाे थियाे। त्यसपछि देउवा हरेक वर्ष गौराको अवसरमा धनगढी आउने गर्नुहुन्छ। शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उहाँले भन्नुभयाे, ‘कार्य व्यस्तताका कारण यसपटक गौरा मनाउन ढिलो गरी धनगढी पुगेँ।’ शनिबार देउवा निवासको गेटमा बम फेला परेको थियो। त्यसैले बुधबार उहाँलाई कडा सुरक्षाकाबीच धनगढी ल्याइएको थियो।
आरजुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, एसपी पदमबहादुर विष्ट सहितका सुरक्षाअधिकारी विमानस्थलनै पुगेका थिए।
annapurnapost