ब्युनस आयर्स । फिफा विश्वकपको फाइनल प्रत्यक्ष हेर्न चाहने दर्शकलाई ध्यानमा राखेर अर्जेन्टिना एयरलाइन्सले दुई उडान थप्ने भएको छ। सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको छ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेसँगै आइतबार हुने फाइनलमा अर्जेन्टिनाले साविक विजेताको सामना गर्नेछ।
बुधबार दुई उडान थप्ने घोषणा हुने बित्तिकै टिकट सोल्ड आउट भइसकेको एपीले जानकारी दिएको छ। शुक्रबार बिहान अर्जेन्टिनाबाट कतार प्रस्थान गर्ने पहिलो उडानको टिकट क्रोएसियाविरुद्धको खेल सकिएको आधा घण्टामै पूरा बिक्री भइसकेको थियो।
शुक्रबार दिउँसो हुने दोस्रो उडानका लागि बुधबार टिकट बिक्री खुलाइएको थियो। र, बुधबार नै सबै टिकट बिक्री भइसकेको एयरलाइन्सलाई उदृत गर्दै एपीले बताएको छ। एयरलाइन्सले प्रतिटिकट करिब ११ हजार डलरभन्दा बढी मुल्यमा राउन्ड ट्रिप टिकट बिक्री गरेको छ।