काठमाण्डौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो समयदेखि लण्डनमा बस्दै आउनुभएका शाहीले त्यहीबाट फिल्म मेकिङमा ग्राजुयट गर्नुभएकाे छ । त्यहाँ केही सर्टफिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका शाही यतिबेला आफूलाई नेपाली चलचित्र उद्योगमा स्थापित गर्न खोज्दै हुनुहुन्छ ।

अहिले पनि धेरै नेपाली कलाकार एवं निर्देशकहरुको रोजाइमा लण्डन पर्दै आएको छ । तर, लामो समय लण्डनमै बिताउनुभएका शाही नेपाल आएर नेपाली चलचित्र निर्देशनमा सक्रिय हुन खोजिरहनुभएकाे छ । उहाँ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्य बोकेर आफूले काम गरिरहेको बताउँनुहुन्छ । पहिलो चलचित्र ‘गोर्खाः विनिथ द ब्रेभरी’ लण्डनमा विशेष प्रदर्शन गरिएपनि दोस्रो चलचित्र ‘अन्तिम संस्कार’ भने अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने आफूहरुको पहिलो प्रयास रहने निर्देशक शाहीले बताउनुभयाे ।

‘हाम्रो पहिलो प्रयास अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा लैजाने रहन्छ’ उहाँले भन्नुभयाे, ‘त्यसपछि मात्रै चलचित्र हलमा रिलिज हुनेछ ।’ ‘अन्तिम संस्कार’को अर्थ मानिसको मृत्युपश्चात गरिने संस्कार हो । निर्देशक शाहीका अनुसार चलचित्रमा ‘मर्डर मिसयूज’को कथालाई समावेश गरिएको छ । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा रहेका आईरहेका भन्दा विल्कुलै फरक खालको चलचित्र निर्माण गर्ने प्रयास गरिएको उहाँको दाबी छ । उहाँ आफू र आफ्नो टिमले निकै मेहनत गरेको बताउँदै चलचित्र हेरेपछि दर्शकहरु ‘यो नेपाली र नेपाली टीमले बनाएको चलचित्र हो रु’ भनेर आश्चर्यमा पर्ने समेत दाबी गर्नुहुन्छ ।
‘नेपालमा धेरै ट्यालेन्ट फिल्म मेकरहरु हुनुहुन्छ । कथा राम्रो छ, पर्फेमेन्स राम्रो छ । लोकेशन नेपाली छ भने हामीले आफ्नै मौलिक कथा निकाल्न सक्दो रहेछौं भन्ने फिल हुन्छ जस्तो लाग्छ’ – उहाँ भन्नुहुन्छ । नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन र चिनाउन निर्माता एवं निर्देशकहरु प्रयासरत हुनुपर्ने उहाँ बताउँनुहुन्छ । आफू त्यही प्रयासमा लागिरहेको उहाँको भनाई छ । यतिबेला लण्डनमै पोष्ट प्रोडक्सनको काम भईरहेको ‘अन्तिम संस्कार’को लगानी झण्डै २ करोड पुग्ने अनुमान छ । विनोद सुवेदी खत्री (टाटेमित) को निर्माण रहेको चलचित्रमा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती लगायतका कलाकारहरुको अभिनय छ । निर्देशक शाही ‘अन्तिम संस्कार’पश्चात ‘गोर्खाः विनिथ द ब्रेभरी २’ निर्माणको तयारीमा लाग्नेछन् । यो चलचित्र भने कर्मशियल हिसाबले निर्माण हुने उहाँको भनाई छ ।