कर्णालीका सांसदहरूले हवाई उडानमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। कर्णालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसदहरूले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल सच्याउन माग गरेका हुन्। दिउँसो १२ बजेपछि हवाई उडानमा लगाइएको प्रतिबन्धले नागरिकको ज्यान अकालमा जान थालेको भन्दै उनीहरूले तत्काल निर्णय सच्याउनुपर्ने माग प्रधानमन्त्रीसँग गरेका हुन्।
नागरिक उड्डयन प्राधिकरणले साउन १५ बाट दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो १२ बजेपछि व्यावसायिक तथा चार्टर उडानमा रोक लगाएको थियो। यो नियमका कारण कर्णालीका दुर्गम तथा हिमाली जिल्लाले नाकाबन्दी खेपिरहेका छन्। हवाई उडानमा प्रतिबन्ध लगाइँदा नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै उक्त निर्णय सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरिएको कालीकोटबाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयाे।
यो प्रतिबन्धका कारण कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र रुकुमपश्चिममा रहेका विमानस्थलमा दिउँसो समयमा हवाई उडान हुन सकिरहेको छैन। सडकको पहुँच नभएका दुर्गमका जिल्लामा एकमात्र विकल्पका रूपमा रहेका हवाई सेवासमेत प्रभावित बनेपछि कर्णालीका सांसदले पर्यटन व्यवसायीसँगै प्रधानमन्त्रीलाई भेट गर्नुभएकाे हाे। टोलीमा कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका सांसद महेन्द्रबहादुर शाही, मुगुका सांसद ऐनबहादुर शाही र हुम्लाका सांसद छिरिङ डम्डुल लामासहित हुनुहुन्थ्याे।
त्यसक्रममा प्रधानमन्त्री दाहालले सरकारले यो निर्णयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए। कुनै पनि निर्णयले नागरिकलाई सास्ती हुन नहुने भन्दै प्रधानमन्त्री दाहालले हवाई उडानमा लगाइएको नयाँ नियमको सम्बन्धमा सरकारले आवश्यक निर्णय लिने बताएको सांसद महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयाे। ‘यो निर्णय खारेज नगरी सुखै छैन’, सांसद शाहीले भन्नुभयाे, ‘यो राजनीतिक रूपमा गरिएको निर्णय हो, प्राविधिक अध्ययन बिना हवाई उडानमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन हामीले प्रधानमन्त्रीलाई आग्रह गर्यौं। यसमा प्रधानमन्त्रीज्यूले सकारात्मक जवाफ दिनुभएको छ, सरकारले यो निर्णय सच्याउनेमा हामी आशावादी छौं।’ अवैज्ञानिक रूपमा लगाइएको उडान प्रतिबन्धका कारण सबैभन्दा बढी सास्ती कर्णालीवासीले भोग्नु परेको उहाँको भनाइ छ।
हवाई दुर्घटना न्यूनीकरण र सुरक्षाको सवालमा पाइलटहरू पनि सचेत रहेको भन्दै उहाँले अनुकूल मौसम भएको अवस्थामा बिहान र दिउँसो दुवै समयमा हवाई उडान हुनुपर्ने बताउनुभयाे। हवाई उडानमा लगाइएको नयाँ नियमका कारण कर्णालीमा दुर्घटनाका घाइते, गम्भीर बिरामी, गर्भवतीको उद्धारमा कठिनाइ भइरहेको छ।
यसबीच, प्रमुख प्रतिपक्षी एमालेले दुर्गम जिल्लामा लगाइएको हवाई उडानमाथिको प्रतिबन्ध हटाउन माग गर्दै मंगलबार प्रदेशसभा अवरुद्ध गरेको छ। दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती भएको र उपचारको अभावमा घाइते तथा बिरामीको मृत्यु हुन थालेको भन्दै एमालेले प्रदेशसभा अवरोध गरेको हो। प्राधिकरणको निर्णय खारेज नगरेसम्म प्रदेशसभा चल्न नदिने एमालेले अडान लिएको छ।
प्रदेशसभाको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नागरिक उड्डयन प्राधिकरणको हवाई सेवा उडानसम्बन्धी नयाँ मापदण्डले नागरिकहरू बिचल्लीमा पर्दासमेत प्रदेश सरकारले कुनै पहल नगरेको आरोप लगाउनुभयाे। उहाँले भन्नुभयाे, ‘दुर्गममा बिरामीले उपचार नपाएर मृत्यु भइरहेको छ, विपद्मा परेकाहरूको उद्धार गर्न सकिएको छैन। तत्काल हवाई सेवामा लगाइएको प्रतिबन्ध खारेज गरियोस्।’ क्यानको अव्यावहारिक निर्णय नसच्चिएसम्म संसद्का कुनै पनि काम कारबाही अगाडि बढाउन नदिने नेता कँडेलले चेतावनी दिनुभयाे।
annapurnapost