कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन देखिएको छ । नेपालमा कफी खेतीको ठूलो सम्भावना छ । नेपाली कफी विश्व बजारमा समेत निर्यात गर्नसक्ने ठूलो सम्भावना हुँदा समेत राज्यले कफी खेतीको विकास र बिस्तारमा आवश्यक ध्यान दिन सकेको छैन । तीनै तहकै सरकार कफी खेतीको विकास र बिस्तार गर्न कुनैपनि कार्यक्रम ल्याउन सकेका छैनन् । पछिल्लो समय नेपालमा समेत झाँगिदै गएको ‘कफी कल्चर’ को विकास भएको छ । यस्तो संस्कृतिले नेपालमा नै उत्पादित कफीको माध्यमबाट स्वदेशमा नै युवाहरुले मुद्रा आर्जन गर्नसक्ने माध्यम बन्नसक्छ । कफी संस्कृतिले स्वदेशमै कमाइको अवसर सिर्जना गरेको छ । त्यसैले राज्यले कफी उत्पादन, लगानीमा नविन सोच भएका तर विदेश रहेका युवाहरुलाई स्वदेश फर्काउन सक्ने कार्यक्रम र योजना ल्याउन आवश्यक छ । राज्यले ठूलो निर्यातको सम्भावना र रोजगारी अवसरको क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कफी व्यवसायलाई राम्रो निर्यात सम्भावना भएको उद्यमका रुपमा राज्यले निर्धारण गरे पनि कफी खेतीको बिस्तार र प्रवद्र्धनमा सरकार उदासिन देखिएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा कफी खेती राम्रो आम्दानी र युवाहरुलाई रोजगारी दिन सकिने धेरै सम्भावना भएको क्षेत्र भएपनि राज्यको उदासिनतका कारण खेती नै समस्यामा पर्ने डर रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ कफी खेतीबाट राम्रै आम्दानी र युवाहरुलाई रोजगारी दिन सकिन्छ । अथाहा सम्भावना भएको क्षेत्र कफी खेती हो । तर गाउँमा काम गर्ने युवाहरु छैनन् । गाउँभरीका जग्गा जमिन बाँझो बसेका छन् ।’
उहाँले राज्य कफी खेतीको सम्भावनाका विषयमा समयमा नै सचेत हुने भने विदेश गएर आर्जन गर्ने मुद्रा नेपालमा नै कमाउन सकिने दाबी गर्नुभयो । महासचिव पोखरेलले सरकारले कफी खेती सम्बधि सीप, बिरुवा,बीउ,सिंचाई,अनुदान र जग्गा भाडा ऐनमा सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामुहिक करार खेतीका लागि पहाडका जग्गाहरुलाई बैंकले मूल्याङ्कन गरेर कर्जामा सहुलियत दिए व्यवसायीहरु लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अहिले समयमा नै सचेत हुने हो र विदेश गएर आर्जन गर्ने मुद्रा नेपालमा नै आर्जन गर्न सकिने सीप, बिरुवा,बीउ,सिंचाई,अनुदान र जग्गा भाडा ऐनमा सरकारले सहजिकरण गर्नुपर्यो । सामुहिक करार खेती,पहाडका जग्गाहरुलाई बैंकले मूल्याङ्कन गरेर कर्जामा सहुलियत दियो भने व्यवसायीहरुले लगानी गर्ने थिए । लगानी गर्नेहरुलाई कफी खेती लगायत कृषिको लागि हकबन्दी हटाउनुपर्छ ।’
उहाँले लगानी गर्नेहरुलाई कफी खेती लगायत कृषिको लागि तत्काल सरकारले हदबन्दी हटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले ७५ रोपनी भन्दा बढी कफी खेती लगाउनै नपाउने गरी हदबन्दी लगाएको भन्दै कफी खेतीको विकास र बिस्तार गरी कफी उद्योगको रुपमा हदबन्दी खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा लगानी गर्नेलाई हदबन्दीमा कडाई गर्ने, करार खेती जग्गा भाडा ऐन पनि नदिने काम अहिले भइरहेको बताउनु भयो । उहाँले सरकारले किसानहरुलाई कुन जातको कफी लगाउने भन्ने प्रोत्साहन समेत गर्न नसकेको बताउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो,‘७५ रोपनी भन्दा बढी कफी खेती लगाउनै नपाउने गरी हदबन्दी लगाएर हुँदैन । व्यवसायीक बनाउन ठूलो फार्मिङमा काम गर्नुपर्छ । कृषि उद्योगको रुपमा लैजानुपर्छ । कृषिमा लगानी गर्नेलाई हदबन्दीमा कडाई गर्ने, करार खेती जग्गा भाडा ऐन पनि नदिने काम भएको छ । यी सबै लगानीकर्ताहरुले गरे पनि सरकारले कुन जातको कफी लगाउने भन्ने प्रोत्साहन गर्ने काम गर्न सकेको छैन । कफी खेतीको लागि जोखिम छैन, राज्य छ, भनेर राज्य उभिनसकेको छैन । सामुदायिक वनमा समेत आयआर्जन गर्ने माध्यम पनि नदिने गरेको छ ।’
महासचिव पोखरेलले नेपालको कफी क्षेत्रमा धेरै विकृति रहेको बताउनु भयो । उहाँले किसानहरुको अभिभावक राष्ट्रिय चियाकफी विकास बोर्ड कफी खेतीको विकास र बिस्तार भन्दा पनि सरकारी भर्ती केन्द्रको रुपमा विकास भएको बताउनु भयो । उहाँले कफी विकासको लागि बोर्डबाट अहिलेसम्म खासै केही कामको निकास नभएको दाबी गर्नुभयो । बोेर्डमा कफीबारे अध्ययन गर्ने विज्ञ समेत नभएको बताउनु भयो ।
कफीमा विकृति धेरै नै छ । २१ वर्षदेखि म कफी खेती, उद्योग ,उत्पादन र बजारीकरणमा समेत छु । किसानहरुको अभिभावक नेपाल सरकार मातहतको राष्ट्रिय चियाकफी विकास बोर्ड सरकारी भर्ती केन्द्र जस्तै भएको छ ।’ उहाँले भन्नुभयो,‘कफी विकासको लागि त्यहाँबाट केही कामको निकास छ्रैन । कफी हेर्ने दुई जना विज्ञ बोर्डमा छैनन् । चक्लाबन्दी कार्यक्रम छ ।’
महासचिव पोखरेलले कफी उद्योगमा १० अर्ब भन्दा बढी लगानी भइसकेको दाबी गर्नुभयो । उहाँले १० अर्ब लगानीमा कफी उत्पादनमा भने १० प्रतिशत मात्रै लगानी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा कफी उत्पादन क्षेत्र कमजोर रहेको तर खपतको क्षेत्र हेर्दा उद्योग र क्याफेमा ठूलो लगानी भएको बताउनु भयो । उहाँले १० अर्ब भन्दा बढी लगानी भएको क्षेत्रमा सरकारले कफीलाई भनेर जम्मा बजेट ५० लाख रुपैया मात्रै छुट्याउने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । महासचिव पोखरेलले ५० लाख बजेट कफी खेतीको विकास र किसानको लागि भन्दा पनि बोर्डको तालिम भत्ता, भ्रमणमा खर्च हुने गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘कफी उद्योगमा १० अर्ब भन्दा बढी लगानी भइसक्यो । जसको १० प्रतिशत उत्पादन क्षेत्रमा छ । उत्पादन क्षेत्र कमजोर छ । खपतको क्षेत्र हेर्दा उद्योग र क्याफेमा ठूलो लगानी भएको छ । १० अर्ब भन्दा बढी लगानी भएको क्षेत्रमा सरकारले कफीलाई भनेर जम्मा बजेट ५० लाख रुपैया मात्रै छुट्याउँछ । त्यहाँ बजेट कहाँ छर्ने भन्दा बोर्डको तालिम भत्ता, भ्रमणमा जान्छ ।’
उहाँले कफीको टेडमार्क बनाउने विषय त्यत्तिकै रहेको भन्दै सरकारले नै कफीको टे«डमार्क लिएर बसेको बताउनु भयो । उहाँल अन्तर्राष्ट्रिय बजारमा जानको लागि व्यवसायीहरुलाई सरकारले टे«डमार्क अहिलेसम्म नदिएको बताउनु भयो । उहाँले नेपाली कफीको उत्पादनदेखि बजारीकरणसम्म राज्यको उपस्थिति नदेखिएको बताउनु भयो । उहाँले कफी निर्यात गर्ने निर्देशिक, ग्रिन कफी निर्यात गर्ने गुणस्तर मापदण्ड बने पनि उत्पादनमा लगानी हुन नसकेको बताउनु भयो । उहाँले स्वदेशी कफीलाई प्रोत्साहन गर्न राज्यले आयात हुने कफीको मूल्य नेपाली उत्पादन कफीको मूल्य भन्दा महँगो बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘कफीको टेडमार्क बनाउने विषय त्यत्तिकै छ । सरकारले कफीको टेडमार्क लिएर बसेको छ । अन्तर्राष्ट्रिय बजारमा जानको लागि व्यवसायीहरुलाई सरकारले टेडमार्क दिँदैन । इन्स्सोरेन्समा जाँदा जाँदै व्यवसायीहरु थाकिसक्यौं । राज्यले नेपाली कफीको उत्पादनदेखि बजारीकरणसम्म केही गर्नसकेको छैन । कफी निर्यात गर्ने निर्देशिक बनेको छ । नेपाली ग्रिन कफी निर्यात गर्ने गुणस्तर मापदण्ड पनि बनेको छ । नेपालमा उत्पादन भएको कफीमा पनि राज्यले कर लगाएको छ । कफी उत्पादन गर्न कुनैपनि सहुलियत नदिने अनि नेपाली उत्पादनमा कनि भ्यान लगाउने काम गर्नुभएन । स्वदेशी कफीलाई प्रोत्साहन गर्न चाहेको भए राज्यले आयात हुने कफीको मूल्य नेपाली उत्पादन भन्दा महँगो बनाउनु पर्छ ।’
उहाँले नेपालको कफी खेतीविधि प्रणाली,हावापानी र प्रशोधनले कफीको स्वादमा विशिष्टता प्रमाणित भइसकेको बताउनु भयो । अग्र्यानिक पद्धतीबाट सबै ठाउँको प्रमाणित नभएकाले नेपाली कफी अर्गानिक पद्धतिको मानिने गरेको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय रुपमा कपको गुणस्तर पहिचान गर्दा नेपाली कफीले ८० अंक भन्दा बढी अंक प्राप्ताङ्क ल्याएर उच्च गुणस्तरयुक्त कफीको रुपमा प्रमाणित भएको बताउनु भयो । नेपालमा उत्पादन भएको कफी कपिङ गरेर हेर्दा ८० प्रतिशत भन्दा बढी नै अंक आएको छ । पूर्वको इलामदेखि पश्चिमको डडेलधुरासम्म जाँदा पनि मध्य भेगका सबै ठाउँमा कफी खेती गरेको देखिन्छ । अनुसन्धान,नीति,जागरणको कमी,लगानीले नभेट्ने र मार्ग निर्देशकको अभावका कारण अपेक्षाअनुरुप कफी फलाउन नसकेको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा धेरै ठूलो माग भनेपनि कफी उत्पादनभित्रका व्यथा धेरै रहेको बताउनु भयो । महासचिव पोखरेलले कफी उत्पादनमा नेपाल नयाँ देश भएकाले प्रोत्साहन स्वरुप विदेशीहरुले कफी खरिद गरेको बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ब्राण्ड खडा गर्न धेरै समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग २० टन भयो भने दिनसक्ने अवस्थामा छैन । नेपालको कफी पनि चाखेर हेरौं भनेर किनेका हुन् । अर्को नेपालको हिमाल बिकेको छ । नेपालको कथाव्यथा,हातले बनाएको,साना किसानबाट उत्पादन,अर्गानिक फार्मिङ भनेका छौं । यता जलवायु परिवर्तनका हिसाबमा नेपाल कार्बनलाई उत्सर्जन गर्ने ग्रिनरीको रुपमा रहेको भनेकाले कथा मिल्न गएको छ । महिलाले उत्पादन गरेको भन्दै कथा बिकेकाले नेपाली कफी धन्न बिकेको छ । अन्तर्राष्ट्रिय बजारमा व्यवसायिक रुपमा एक कन्टेनर माग भयो भने उनीहरुको मापदण्डअनुसार निर्यात गर्न धेरै समस्या छ । कफीको विषयमा जसरी सजिलै बोल्छन् । उनीहरुको कफीमा लगानी वा झुकाव छैन । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ब्राण्ड खडा गर्न धेरै समस्या छ । गत वर्षको कफी उत्पादन हेर्दा ३ सय ९४ मेट्रिक टन जति देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ को उत्पादन आउँदा ५ सय मेट्रिक टन क्रस गर्दैछौं । मौसमले पनि साथ दिएको वर्ष छ । कोभिडपछि कफी उत्पादनको प्लानटेसनमा प्रोत्साहन गरेका थियौं । सरकारले पनि आफ्नो ठाउँबाट केही गरेको छ । राष्ट्रिय कफी विकास बोर्डको क्षेत्र विकास कार्यक्रम अन्तर्गत उहाँहरुले चक्लाबन्दी भन्नुभएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत ६ जिल्लालाई कफी जोनको रुपमा लैजाने काम भएको छ ।’
उहाँले मुलुकमा कफीको माग २४ सय मेट्रिक टन रहेको बताउनु भयो । उहाँले १९ सय मेट्रिक टन भारत लगायत तेस्रो मुलुकबाट कफी आउने गरेको बताउनु भयो ।
‘आन्तरिक उत्पादन ५ सय मेट्रिक टन भर्खर कुरा गरेका छौं तर मुलुकमा कफीको माग २४ सय मेट्रिक टन छ । बाँकी १९ सय मेट्रिक टन भारत लगायत तेस्रो मुलुकबाट आउँछ । कमसल गुणस्तरको कफी आएको छ ।’ उहाँले थप्नुभयो ‘त्यो कफीलाई हामीले संस्थागत बनाउन सकिरहेका छैनौं भने नियन्त्रणमा पनि लिन सकेका छैनौं । नेपाली कफीको नाममा नेपालमा पुन प्याकेजिङ भएर अनैतिक तरिकाले केही निहित वर्गका व्यापारीहरुले नाफा कमाउने उद्देश्यले त्यस्ता कफीलाई प्रवेश गराउने काम भएको छ ।’
सरकारको तथ्याङ्क हेर्दा साढे ३ सय मेट्रिक टन कफी आयात भएको देखिएपनि नेपालको उत्पादन ५ सय मेट्रिक टन मात्रै हो । तर नेपालमा कफीको माग २४ सय मेट्रिक टन रहेको छ ।
न्युज एजेन्सी नेपाल