काठमाडौं । गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी एक सातापछि नियन्त्रणमा आएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आगलागी एक हप्तापछि नियन्त्रणमा आएको भएपनि केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको जानकारी दिए।
काभ्रेपलाञ्चोककै अग्लो स्थान बेथानचोक गाउँपालिकामा पर्ने बेथानचोक नारायणस्थानको यात्रा खुलेको छ। आगलागी जोखिम भएको क्षेत्र भएकोले रोकिएको यात्रा आगलागी नियन्त्रणमा आएसँगै खुल्ला गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनुभयो ।
गत बुधबार पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं। १, २, ३ र ५ को वन क्षेत्र जोखिममा रहेको जानकारी गराउँदै पालिकाले आगलागी नियन्त्रण नहुँदासम्म त्यस क्षेत्रमा नजान आग्रह गरेको थियो ।
यसअघि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउन हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी खन्याउँदा पनि आगो नियन्त्रणमा आउन सकेको थिएन ।