कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आफुले न्यायपरिषद्को बैठक छल्न नखोजेको बताउनुभएको छ । मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताउनुभएको हो । उहाँले आफू जिम्मेवारीबाट नभाग्ने स्पष्ट पार्नुभयो । उहाँले विगतमा कहिले प्रधानन्यायाधीश त कहिले आफू काठमाडौं उपत्यका बाहिर रहेको कारण न्याय परिषद्को बैठक बस्न नसकेको भन्दै बैठक नबस्नुमा आफूलाई मात्र आरोप लगाउन नमिल्ने बताउनु भयो । उहाँले बैठक बस्न नसक्नुको सन्दर्भमा एकले अर्कोलाई आरोपित पनि गर्नु नहुने बताउनु भयो । उहाँले न्यायपरिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडी बढाइरहेको भन्दै न्यायाधीश नियुक्ति छिटोभन्दा छिटो नियुक्ति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले न्याय क्षेत्रमा शुद्धीकरण अभियान चलाउनुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कसैले पनि बैठक छल्न खोजेको अवस्था रहेन । त्यो होइन । जिम्मेवारीबाट भाग्नेकुरा हुँदैन । कहिले प्रधानन्यायाधीश काठमाडौं बाहिर रहने सन्दर्भ रह्यो । कहिले कानूनमन्त्री बाहिर रहने सन्दर्भ पनि रह्यो । त्यो यथार्थबाट हामी भाग्नु पनि हुन्न । एकपक्षिय ढंगबाट कानूनमन्त्रीलाई मात्रै आरोप लगाएर बैठक छल्न खोजियो भनेर कतैबाट भनिरहने र कानून मन्त्रीले पनि फेरि अर्को पक्षतर्फ केन्द्रित गरेर टार्यो भनिरहने । यो प्रवृत्तिसँग म असहमति राख्छु म जहिल्यैपनि । कसैले पनि कतैबाट बैठक छल्न र भाग्न खोजेको होइन । न्यायपरिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडी बढाइरहेको अवस्था छ । प्रक्रियामा हामी छौँ । तर ठ्याक्कै यही मितिमा यसरी नै हुन्छ भन्न सकिने अवस्था होइन । तथापि छिटोभन्दा छिटो न्यायाधीश नियुक्ती गर्न पायो भने कम्तिमा पनि मुद्दाका चाङहरु छिट्टै घटाउन सकिन्थ्यो कि ? अरु पनि धेरै कुरा गर्न बाँकी छ । मुद्दाको चाङ खालि न्यायाधीश नियुक्तिले घटिहाल्छ भन्नेपनि होइन । त्यहाँभित्र रहेका धेरै जनगुनासोहरुलाई पनि सम्बोधन गर्न बाँकी नै छ । न्याय क्षेत्रमा शुद्धीकरण अभियान चलाउन बाँकी नै छ । तथापि नियुक्ति पहिलो शर्त हो भन्ने मलाई पनि लाग्छ । किनभने राम्रो बीउ रोप्न सकियो भने बिरुवा राम्रो उम्रने हो । बीउ नै राम्रो रोप्न सकिएन भने बिरुवा राम्रो होस् भनेर कामना गरेर मात्रै हुन्न । कुहिएको बीउ पर्यो भने बिरुवा नउम्रिन नि सक्छ । त्यसकारणले गर्दा न्यायाधीश नियुक्तिमा राम्रो ढंगबाट हामीले काबिल, क्षमतावान व्यक्तिहरुलाई नै नियुक्ति गर्नका लागि हाम्रो गहन ढंगबाट छलफल भइरहेको छ ।’
उहाँले काबिल, क्षमतावान व्यक्तिहरुलाई न्यायाधीश नियुक्ति गर्नका लागि गहन छलफल भइरहेको बताउनु भयो ।