कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दुई÷तीन दिन भित्र नै मिटरब्याजी बिरुद्धको विधेयक पारित हुने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिष्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेको आरोप लगाउनु भयो । उहाँले नुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिंगै काँग्रेस अघि बढ्ने बताउनु भयो । उहाँले इफ बट केही नभनी यही संसदबाट दुई, तीन दिनभित्र विधेयक पारित गर्ने बताउनु भयो । उहाँले देश र जनताको बिरोधी भ्रष्टाचार र भ्रष्टाचारी भएकाले सरकारले सुशासन र भ्रष्टाचारबिरुद्ध अघि बढीरहेको बताउनु भयो । उहाँले सरकारको एउटै मिसन सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेकुरा रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारका कुरामा सरकारले कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी नचिन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज देश र जनताको बिरोधी को ? व्यवस्था हो ? होइन, व्यवस्था हामीले प्राप्त गरिसकेका छौँ, तर नेपाली जनताको अवस्था किन बदल्न सकेनौँ ? अवस्था बदल्न नसक्नुको कारण नेपाली जनताको बिरोधी शक्ति भनेको भ्रष्टाचार र भ्रष्टाचारी नै हो, हामी त्यसैगरी लड्छौँ, रगत बगाउन तयार छौँ, भ्रष्टाचारीहरुका बिरुद्धमा, भ्रष्टाचारीको मुख हेरिने छैन । हाम्रो सरकारको एउटै मिसन हो, सुशासन स्थापना गर्ने, र जनतालाई डेलिभरी दिनेकुरा हो । जनतालाई सुशासन दिनका लागि पनि भ्रष्टाचारका फाइलहरु खोल्दै जाने, जो जो पर्छ पर्दै जान्छन्, कानूनले यो वा त्यो भन्दैन, कुनै जात, धर्म, लिङ्ग, वर्ण, राजनीतिक पार्टी चिन्दैन, त्यही आधारमा अघि बढ्नेछौँ । त्यही मिसनमा सरकार अघि बढीरहेको छ । त्यसैले सरकारले आज भ्रष्टाचारका फाइल खोल्दै गर्दा सरकार ढल्छ भन्ने सुनेको छु, आज मिटरब्याजी पीडकलाई कानूनमा ल्याउँदा अध्यादेश फेल गराइ प्रतिष्थापन विधेयक आउन नदिने षड्यन्त्रहरु भइरहेका छन् । यो र त्यो नाउँमा मिटरब्याज अनुचित लेनदेनको विधेयक अघि बढाउने क्रममा सिंगै काँग्रेस अघि बढ्छ । मलाई अनुचित लेनदेनको विधेयक जसरी पनि पारित गर्ने हो तिमी अघि जाउ भनेर पार्टी सभापतिले भन्नुभएको छ । त्यसैले पनि हामी सिंगै काँग्रेस एक ठाउँमा छौँ । इफ बट केही लाग्दैन, अब यही संसदबाट यो विधेयक दुई, तीन दिनभित्र हामी पारित गरेर अघि बढ्छौँ, कुनैपनि मिटरब्याजी पीडिकलाई छोड्दैनाैँ ।’
मन्त्री गुरुङले भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ भन्ने भ्रम फैल्याइएको बताउनु भयो ।