मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि उहाँकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २:३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ। अभिनेता सैफमाथि घाँटी, ढाड, हात र टाउकोसहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो। घटनापछि सैफलाई बिहान ३ बजे लीलावती अस्पताल लगिएको थियो।
लीलावती अस्पतालका सीओओ (प्रमुख सञ्चालन अधिकृत) डा. नीरज उत्तमानीले सैफलाई ६ ठाउँमा छुरा प्रहार गरिएको बताउनुभयाे। उहाँको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि चुहिन थालेको उहाँले जनाउनुभएकाे छ। शल्यक्रिया गरेर चक्कु निकालिएको छ। उहाँको देब्रे हातमा दुईवटा गहिरो घाउ र घाँटीमा पनि गहिरो चोट लागेको छ । उपचारपछि हाल उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ।
मुम्बई प्रहरीका डीसीपी गेडाम दीक्षितले एक आक्रमणकारीको पहिचान भइसकेको बताएकाे सञ्चारमाध्यममा उल्लेख छ। प्रहरीले सैफको घरबाट तीन जनालाई सोधपुछको लागि लगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र उपस्थित कसैले आक्रमणकारीलाई प्रवेश दिएको थियो। घरमा कोही पनि जबरजस्ती पसेका छैनन्। सीसीटीभीमा पनि कोही घरभित्र पसेको देखिँदैन।
मुम्बई प्रहरी र अपराध शाखाद्वारा अनुसन्धानका लागि १५ टोली गठन
बान्द्रा प्रहरी चौकीले आक्रमणकारीहरूको खोजी गर्न ७ वटा टोली गठन गरेको छ। अपराध महाशाखाले पनि मुद्दाको अनुसन्धान गर्न ८ वटा टोली गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च पनि सैफको घर पुगेको छ। यसको अर्थ मुम्बई प्रहरीका कुल १५ टोली यस मुद्दासँग सम्बन्धित अनुसन्धानमा संलग्न छन्।
सैफको टोलीको आधिकारिक बयानका आधारमा सैफ अली खानको घरमा चोरीको प्रयास भएको बताइएको छ। आक्रमणमा सैफको घरमा काम गर्ने कामदार आरियामा फिलिप उर्फ लिमा पनि घाइते भएकाे जनाइएकाे छ।