विराटनगर । मोरङ र सुनसरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ बालक र २ युवकको मृत्यु भएको हो। मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित भित्री सडकखण्डमा ट्याक्टरले मंगलबार साँझ ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बालकको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरको ठक्करबाट सुन्दरहरैँचा–४ का ९ वर्षीय मिलन सरदारको मृत्यु भएको प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिनुभयाे।
उहाँका अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो। उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनालगत्तै फरार बनेका ट्याक्टरका धनी एवं चालक ४० वर्षीय कालराम सरदारको खोजी भइरहेको छ।
त्यस्तै सुनसरीको बर्जु गाउँपालिका–१ गोपी चोकस्थित भित्री सडकखण्डमा साँझ ७:१० बजेतिर ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जना युवकको मृत्यु भएको छ। सडकमा रोकेर राखेको को १ त ६७७४ नम्बरको ट्याक्टरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३४ प ६४७८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
प्रदेश ट्राफिक प्रमुख एसपी महतोका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रंगेली नगरपालिका–१ का २७ वर्षीय धीरेन्द्र सरदार र सुनसरीको बर्जु–५ का २६ वर्षीय निरज सरदारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना भएका बेला मोटरसाइकल कसले चलाएको थियो भन्ने खुल्न बाँकी छ। मोटरसाइकल र ट्याक्टरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ। ट्याक्टरका चालकको भने पहिचान खुलेको छैन। खोजी जारी राखिएको एसपी महतोले बताउनुभयाे।
source:-onlinekhabar