काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई बधाई दिनुभएकाे छ ।
मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उहाँले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई दिनुभएकाे हाे ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको थियो ।
राष्ट्रपतिले भन्नुभएकाे छ, ‘खेलको क्रममा नेपाली खेलाडीहरुले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’
राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गर्नुभएकाे छ। त्यस्तै उहाँले आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना दिनुभएकाे छ ।