आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्न माग गर्नुभएको छ ।
मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता भएको बताउनु भयो । उहाँले कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताउनु भयो । उहाँले सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदुत नियुक्ति हुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता हो यो । कतै न कतै कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ । त्यो देश पहिलाबाट नै युद्धरत छ । ती दुवै पक्षबीच युद्धमा नै थियो । त्यहाँको राजदुत के गरेर बसेको थियो । मेरो सुझाव सरकारले त्यो राजदुतलाई निलम्वन गर्नुपर्छ । फिर्ता बोलाउनुपर्छ । त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो । बाहिरि कुरा देखाएर हुँदैन । सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गरेपछि यस्तै हुन्छ । सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ ।’
सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताउनु भयो ।