काठमाडौं सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिनेबारे संसद्मा जानकारी गराउनुभएकाे छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको भन्दै सो दिन प्रतिनिधिसभा बैठक आह्वान गरेको सांसदहरूलाई जानकारी गराउनुभएकाे हाे।
'प्रधानमन्त्री पुष्पकमल दाहाल ''प्रचण्डुले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते शुक्रबारका दिन प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधिसभा नियमावलीको २०७९ को नियम १५५ को उपनियम ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको विश्वासको मत लिने व्यहोराको माननीय सदस्यहरूलाई जानकारी गराउन चाहन्छु, 'उहाँले भन्नुभयाे।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उसले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सहमतिअनुसार दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्नेछन्।
सहमतिअनुसार संसदको बाँकी समय पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ। त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ।
अशोक राई नेतृत्वको जसपा पनि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लाग्नुभएकाे हाे। तर उहाँले विश्वासको मत पाउने संभावना भने छैन।
हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सीट पुग्ने अवस्था छ।
माओवादी केन्द्रसँग ३२ सीट छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ सीट छ भने एकीकृत समाजवादीसँग १० सीट छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४,जनता समाजवादी पार्टीसँग ७,जनमत पार्टीसँग ६, जनता समाजवादी पार्टी, नेपालसँग ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसँग ४-४ सीट छ। त्यसबाहेक नेपाल मजदुर किसान पार्टी,राष्ट्रिय जनमोर्चा,आम जनता पार्टीसँग एक-एक र दुई स्वतन्त्र सांसद छन्।
annapurnapost