काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाका सात र महोत्तरीका पाँचजना गरी १२ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा दायर गरेको छ ।
अख्तियारले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो । उहाँहरूविरुद्ध ३३ लाख ८२ हजार ४१७ रुपियाँ बिगो दाबी गरिएको छ ।
यसैगरी, जिल्ला महोत्तरी, पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत पाँचजना उपर गैरकानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र पनि दायर भएको छ । उहाँहरूविरुद्ध एक लाख ४८ हजार ९१० रुपैँया बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।