दैलेख । दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका विकको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले टाउको, छाती र ढाडमा चोट लागेर अत्यधिक रगत बगेको कारण विकको ज्यान गएको बताउनु भयो ।
कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको लम्सालले जानकारी दिनुभयो ।