काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार मङ्गलबार काठमाडौँको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।
यस्तै, बुधबार सिनामङ्गलमा रहेको संस्कार रिडर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरेको थियो । उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ ।