बाग्लुङ । बाग्लुङको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुबेला रोगको लक्षण देखिएको छ।
बुधवार हिजार्व डामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा लक्षण भएका सात बालबालिका उपचारका लागि आएका स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताउनुभयो ।
ती बालबालिका अम्कोट गाउँका एउटै टोलका रहेका विष्टले बताउनु भयो । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउनुहुन्छ । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ।
अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन् । एक हप्तादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो ।
बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ।
बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहका अनुसार बालबालिकामा दादुरा तथा रुबेला रोगको सङ्केत देखिएको खबर आएको छ भन्नुभयो ।
दादुरा तथा रुबेलाको नमुना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी लिएर अम्कोटमा जान लागेका उहाँले बताउनुभयो ।
बिहीवार स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमुना पठाउने शाहको भनाइ छ।
उहाँका अनुसार अहिले नै दादुरा तथा रुबेला भन्न नसकिने भएकाले जाँचका लागि नमुनाको रिपोर्ट धनगढी प्रयोगशालाबाट आएपछि मात्र कुन रोग हो भन्ने थाहा हुने शाह बताउनुहुन्छ । यो रोग थप सर्न नदिनका लागि समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताउनुभयो।
दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो। दादुरा भएका व्यक्तिले दादुराका लक्षण ज्वरो, डाबर देखिनु दुई दिनअघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन्।
दादुराको खोप नलगाएका व्यक्ति, रोग प्रतिरोधात्मक शक्ति काम भएका अर्बुद, एड्सका बिरामी र लामो समय स्टेरोइड खाएका बिरामी नौ महिनाभन्दा कमका शिशु जसमा आमाको गर्भबाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्भवती दादुरा रोगको बढी जोखिममा हुन्छन् ।
नेपाल सरकारबाट निःशुल्क प्रदान हुने दादुराको खोप नौ महिना र १५ महिना उमेरका बालबालिकालाई दुई डोज लगाए यसबाट हुनसक्ने जोखिम निर्मूल पार्न सकिन्छ । यसको खोपले जीवनभरि रोग प्रतिरोधात्मक शक्ति दिने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।