सुर्खेत । कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसिवीको कारण दुःख दिन उजुरी अख्तियारमा पठाउने गरेको पनि पाइएको छ । उपभोक्ता समितिमा भागबन्डा नमिल्दा, ठेक्का भएका योजनाहरूमा काम नपाउँदा लगायतका कारणले दुःख दिने नियतले प्रायः उजुरी आउने भए पनि कर्णालीका विकट ठाउँमा कामठग प्रवृत्ति मौलाउँदो छ ।
९ स्थानीय तह रहेको सुर्खेतमा ५९ वटा उजुरी रहेको छ । सबैभन्दा बढी गुर्भाकोटबाट २२ उजुरी परेको छ । दैलेखका ११ स्थानीय तहमा ९६ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । जसमा नारायण नगरपालिकाबाट २३ वटा अनियमितताका उजुरी दर्ता भएको छ । कालीकोटका ९ स्थानीय तहमध्ये ५४ वटा उजूरी दर्ता छन् ।
सबैभन्दा बढी खाँडाचक्र नगरपालिकामा १३ वटा रहेको छ भने सबैभन्दा कम पचालझरनामा १ वटा अनियमितताको उजुरी परेको छ । जुम्लाका ८ स्थानीय तहमध्ये सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाबाट एउटा पनि उजुरी परेको छैन् । जुम्लाका बाँकी ६ वटा स्थानीय तहबाट ३८ वटा उजुरी दर्ता भएका छन् ।
सबैभन्दा बढी उजुरी सदरमुकाम समेत रहेको चन्दननाथ नगरपालिकाबाट २३ वटा उजुरी दर्ता भएको छ । मुगुका चार स्थानीय तह रहेकोमा मुगुमा कर्मारोङ गाउँपालिकाबाहेक अन्य तीनवटा स्थानीय तहबाट ४९ वटा उजुरी दर्ता भएकोमा सबैभन्दा बढी सदरमुकाम गमगढीमा रहेको छायाँनाथ रारा नगरपालिकाबाट २६ वटा उजुरी दर्ता भएको अख्तियार अनुसन्धान दुरुपयोग आयोग सुर्खेतले जनाएको छ ।