सल्यान । सल्याानमा कुखुरा खान आएको बाघको आक्रमणबाट ४ जना घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ दोलिकका ४० वर्षीय राज केसी, ४० वर्षकै टेकबहादुर थापा, वर्ष १६ का छबिलाल केसी र वर्ष २७ का भीमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। बाघले हात खुट्टामा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको र त्यही हेर्ने क्रममा लुकेर बसेको बाघले राजबहादुर केसीलाई आक्रमण गरेको थियो। अन्य तीन जनालाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो।
अहिले पनि बाघ सोही ठाउँको धान खेतमा रहेको छ। बाघ नियन्त्रणका लागि इलाका वन कार्यालय लुहाम सल्यानको टोली पुगिसकेको र डिभिजन वन कार्यालय सल्यान र बाँके राष्ट्रिय निकुञ्जको टोली पनि पुग्दै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो।