काठमाडौं । महिलाकै चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।
आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमानको म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाडौं को नेपालटार बस्ने १९ वर्षकी देवकी न्यौपानेलाई पक्राउ गरेको छ ।
पीडितको जाहेरीपछि ब्युरोले गरेको अनुसन्धानमा उक्त कार्यमा संलग्न रहेको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट आजै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
अर्को घटनामा अनलाइनबाट आफू र साथीको फोटो इडिट गरी फेसबुकमा सार्वजनिक गरेको भन्ने पीडितको आरोपमा काठमाण्डौको कोटेश्वर बस्ने मुना त्रिताललाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।