काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका–१ का ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ का २३ वर्षीय चित्रबहादुर मगर र स्याङ्जाको वालिङ नगरपालिका–१२ का ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।