बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका ३ जना बेपत्ता भएका छन् ।
आज आइतवार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएका बर्दियाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिक्मलबहादुर बोहोराले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेको उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा दुई सय २६ दशमलव चार मिलिमिटर वर्षा भएको जनाएको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा एक सय ७२ दशमलव आठ मिलिमिटर र सानोश्री चेपाङमा एक सय ७४ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।