दमौली I खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो ।
विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले भन्नुभयो, “विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्णखोप लगाइँदैछ ।
“सात पालिकाबाहेकका ऋषिङ , घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकताअनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआरलगायतका खोप अभियान पनि सञ्चालनमा छ”, उहाँले बताउनु भयो ।