काठमाडौं । निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा एनसेलले प्रत्येक ग्राहक विजेता बन्ने गरी एभ्री कस्टमर इज अ विनर अफर ल्याएको छ ।
कम्पनीका अनुसार उक्त अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सुविधा र सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । एस्ट्रिक्स १७११७ ह्यास डायल गरी ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सातजना ग्राहकले ७ वटा स्कुटर पाउनेछन् एनसेलले भनेको छ ।
एनसेल मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको यात्राका बारेमा उत्साह प्रकट गरेका थिए । ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गछौं,’ उनले भने, ‘एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं ।’