बाजुरा । बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहनुभएकाे छ।
बडीमालिकाको दर्शन गर्न जानुभएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत हुनुभएकाे थियाे। अचेत अवस्थामा भेटिनुभएका उहाँको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे।
यस्तै अक्सिजन अभावका कारण अचेत हुनुभएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ। मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताउनुभयाे।
यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ। सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ।