पोखरा । पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त हुनुभएकाे छ । अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहनुभएका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त हुनुभएको पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले
जानकारी दिनुभयाे । सौगातलाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको हो ।
सौगात पछिल्लो समय व्यवसायमा सक्रिय हुनुहुन्छ । सौगात पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।
पोखरा ट्रेडमललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उहाँको छ । ट्रेडमलमा व्यवसायीलाई आकर्षण गराउन प्रविधिमैत्री वातावरणलाई आत्मसात् गरिने उहाँले बताउनुभयाे । ‘अग्रजका सल्लाहलाई अनुसरण गर्दै पोखरा ट्रेडमलको स्तरउन्नतिमा लागि पर्नेछु’, उहाँले भन्नुभयाे ,‘ट्रेडमलको प्रचारप्रसारमा समेत ख्याल गरी व्यवसायिक मैत्री वातावरण बनाउने लक्ष्य सहित काम गर्न प्रतिबद्ध छु ।’
मिनराज काफ्लेले ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा युवा व्यक्तित्वलाई नियुक्त गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयाे । सौगात सयौं युवाहरुको प्रेरणा बन्न सक्ने भनाई उहाँको छ । युवालाई व्यवसायिक क्षेत्रमा आकर्षण गराई नेतृत्व विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास उहाँले लिनुभएकाे छ ।
पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्स मध्येमा पर्छ । जहाँ १ हजार २ सय भन्दा बढी सटरहरु छन् । ट्रेडमलमा अंशुवरा ग्रुपको ठूलो लगानी छ । यसका अलवा अंशुवरा समूहले वित्तिय संस्था, रियलस्टेट, हस्पटालिटी क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । यस्तै यो समूहले अंशुभरा एग्रोफर्म समेत संचालनमा ल्याउने तयारी गरिरहेकोे छ ।