गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई ससुराले अमानवीय शैलीमा कुटपिट गरेकाे भिडियो टिकटकमा भाइरल नै भयो । भाइरल भिडियोकाे आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा लियो।
भिडियोमा एक महिलालाई पुरुषले अन्धाधुन्ध कुटेको दृश्य देखिन्छ । छुट्याउन आएकी छिमेकी महिलालाई समेत कुट्न तम्तयार भएको भिडियोमा छ । घर बाहिर सडकमा प्रमिला निर्मम कुटाइ खाइरहेकी देखिन्छिन् । कुटाइले प्रमिला रोइरहँदा प्रमिलाकी ४ वर्षीया छोरी पनि रोइरहेकी देखिन्छ ।
दुई महिलाले निर्मम कुटाई गरिरहेका पुरुषबाट प्रमिलालाई छुट्याउन सक्दैनन् । अर्की छुटाउन आएकी महिलालाई समेत कुट्न तम्तयार भएको दृश्य भिडियोमा देखिन्छ । सोही भिडियोको आधारमा ईलाका प्रहरी कार्यालय बाँसगढीले ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताउनुभयाे ।
भरथरीसँग घरपरिवार लगायत समाजका मानिस पनि डराउने रहेछन् । मदिरा सेवन गर्दा त कोही पनि अगाडि नपर्ने गरेको प्रहरी निरीक्षक खड्काको भनाइ छ । हामीले भिडियो देखेपछि तत्काल घरमा पुगी उनलाई नियन्त्रणमा लिइ सार्वजनिक मुद्धा मार्फत थप अनुसन्धान अघि बढाएका छौं । बुहारीले मोबाइल चलाइरहेको अवस्थामा मोबाइल फुटाइदिएका थिए। किन मोबाइल फुटाएको भनी बुहारीले प्रश्न गर्दा कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितका श्रीमान ताप्लेजुङमा मजदुरी गर्न गएको प्रहरीले जनाएकाे छ ।
'छोराले पैसा पठाउँदै गर्ने तपाइँ पिइरहने भनेर मैले ससुरालाई भने । त्यतिबेला म मोबाइल हेर्दै थिएँ। ससुराले एक्कासी आएर कपाल तान्दै मुक्का, झापड, खुट्टाले हान्दै कपाल जगल्टाएर घिसार्दै कुट्नुभयो', पीडित प्रमिला थारुले बताउनुभयाे ।
घटना थाहा पाएर ईलाका प्रहरी कार्यालय बाँसगढीमा बुझ्न पुगेकी महिला अधिकारकर्मी सपना शर्मा भन्नुहुन्छ, 'भिडियोमा लछार पछार गरी कुटेको छ । भिडियो मार्फत प्रहरीले पिडकलाई पक्राउ गरेको छ । यस्ता घटना समाजका धेरै घरमा छन् । त्यसलाई बाहिर ल्याउनु जरुरी छ । भिडियो नबाहिरिएको भए घटना गाउँमै गुपचुप हुनेथियो । बुझ्दा ससुराले पटक पटक कुट्ने गरेको पाइयो ।' पीडकलाई हदैसम्मको कारवाही हुनुपर्ने अधिकारकर्मी शर्माको भनाई छ ।बुहारी कुटेको आरोपमा पक्राउ परेका ससुरालाई म्याद थपको लागि गुलरिया लगिँदै।
source:-annapurnapost
तस्बिर : यादव आचार्य।