काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका सबै नेताहरूको सम्पत्ती छानबिन हुने बताउनुभएकाे छ । शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारीको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले नेताहरूको सम्पत्ती छानबिन गर्न सरकार अगाडि बढ्ने दावी गर्नुभएकाे हाे। 'मैले सम्पत्ती विवरण बुझाइसकेको छ,'उहाँले भन्नुभयाे,'नेताहरूको सम्पत्ती छानबिन गर्न सरकार अगाडि बढ्छ।'
मन्त्री गुरूङले सबै नेताहरू आर्थिकरुपमा पारदर्शी हुनुपर्ने धारणा राख्दै मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर टिप्पणी उठाउनेहरूको हातमा हतकडी लगाएर सुशान स्थापना गर्न नसकिने जिकिर गर्नुभयाे। उहाँले यो कुरामा सबै स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयाे।
'जसले मुलुक भष्टाचारमुक्त हुनुपर्छ भनेर टिप्पणी उठाउँछ तिनका हातमा हतकडी लगाउने। टिप्पणी उठाउन आदेश दिनेहरूलाई तिनै सलाम ठोक्नेहरू प्रवत्तिको अन्त्य हुनुपर्छ,'उहाँले भन्नुभयाे। उहाँले मुलुक सुधारका लागि पहिले आफै सुधारिनु आवश्यक रहेको बताउनुभयाे।
गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटी मान्न नसकिने बताउनुभयाे । उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्राइँले सुन तस्करी भएको खबर पढेको भन्दै उहाँले त्यति ठूलो पहेलो हात्ती अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गर्नुभयाे ।
मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पट पार्नुभयाे । उहाँले सरकारको कार्यक्रममा उच्चतहका व्यक्तिहरुको सम्पत्ती छानबिन गर्नुपर्छ भनेर देखाउनका लागि मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पार्नुभयाे।