विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो ।
विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जानकारी पोखरेलले दिनुभयाे । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
उहाँका अनुसार तरबार प्रहारबाट गम्भीर घाइते विराटनगर–८ का २२ वर्षीय महमद हलिमकाे दुवै हातमा गहिरो चोट लागेकाे छ। हलिमकाे विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर–१० सन्सारीमाई स्थाननजिकै सोमबार दिउँसो २ :४५ बजेतिर तरबार हानिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका छजनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गर्नुभएकाे छ । घटनामा संलग्नको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ ।
घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ ।