काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विमानस्थलको भन्सारको गोदामबाट हराएको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउनुभएकाे छ। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उहाँले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ सुन हराएपछि उक्त प्रकरणमा चिनियाँ व्यापारीसँग माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख महरा र उहाँका छोरा राहुल महराकोसमेत कनेक्सन देखिएको भन्दै विपक्षी दल एमाले र राप्रपाले संसदमा समेत छानबिनको माग गरेको थियो ।
भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग महरा बाबुछोराले पटकपटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर हालसम्म प्रहरीले महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन। उक्त प्रतिवेदनको आधारमा समाचार प्रकाशित भएपनि महराले उक्त प्रकरणमा रहेको नाम र उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गर्नुभएकाे हाे।
बिहीबार बिहान सामाजिक सञ्जालमा महराले लेख्नुभएकाे छ, ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु। फेरि पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’
यस अगाडि उहाँले तथ्यहीन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा समाचार प्रकाशन भएको उल्लेख गर्नुभएकाे थियाे। महराले भन्नुभएकाे थियाे,‘जहाँसम्म छोरा राहुलले भन्सार कर्मचारीलाई सम्पर्क गरेको भनिएको छ; उनी चिनियाँ नागरिक वाङले चिनिया कामदारको लागि मगाएको केही सामान भन्सारमा अड्किएको र बुझिदिन आग्रह गर्दा भन्सार कर्मचारीलाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएको र उनलाई त्यही जानकारी गराएको हो । तर अरू कुनै विषय जानकारीमा नभएको तथ्य हो । साथै ती व्यक्तिसँग कुनै कार्यमा कुनै सहभागिता र सहयोग नगरेको पनि प्रस्ट पार्न चाहन्छौँ ।’
भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ। एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा हालसम्म जवाफसमेत दिएका छैनन्। विपक्षीको अडानपश्चात सत्ता पक्षले सभामुखलाई संसद बैठक सार्न आग्रह गर्दै आएको छ। माओवादीसहित सत्तापक्षका सांसदहरु छानबिन समितिको विषयलाई लिएर दुई धारमा उभिएका छन्।