डोटी । केही दिनदेखिको अविरल वर्षाका कारण डोटीका ग्रामीण सडकहरू ठाउँठाउँमा अवरुद्ध भएका छन् । सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि गाडी सञ्चालनमा समेत अवरोध भएको छ ।
घोरेटो बाटोसमेत पहिरोले अवरुद्ध बनाएपछि एक गाउँबाट अर्को गाउँ जानका लागि समस्या भएको स्थानीयवासी बताउँछन् । वर्षाका कपल्लेकी, गड्सेरा, मुड्भारा धुर्कोट, चवराचौतारा, नापानी, जोरायल गड्सेरा, वीपीनगर गड्सेरा सडक अवरुद्ध भएको जोरायल गाउँपालिका–५ का कर्ण बोगटीले बताउनुभयो ।
यहाँका ग्रामीण सडकहरूमा बर्खा शुरु हुनासाथ पहिरो खस्ने र गाडी सञ्चालनमा समस्या आउने गरेको छ । वर्षौँ पहिले खनिएका ग्रामीण सडकहरूको स्तरोन्नतिका लागि पहल हुन नसक्दा बर्खामा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।
वर्षाका कारण ग्रामीण सडकहरूमा गाडी चल्न बन्द भएपछि गाउँमा दैनिक उपभोग्य वस्तु पाउन मुस्किल पर्न थालेको केआईसिंह गाउँपालिका–५ रानागाउँका सुरेन्द्र शाहीले गुनासो गर्नुभयो । वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा पहिरो आउँदा गाडी चलाउनै नमिल्ने भएको शैलेश्वरी यातायातका प्रमुख प्रेम रावलले जानकारी दिनुभयो ।