भोजपुर । भोजपुरको राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका ६ वटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो ।
बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहुँचभन्दा बाहिर रहेको उहाँको भनाइ छ ।
बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो। टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो ।
बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी मानबहादुर सुनारले बताउनुभयो । जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उहाँको भनाइ छ ।