काठमाडौं । संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् र्भको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई दलका नेताहरुले असार अन्तिमसम्ममा समितिले नेतृत्व पाउँछ भनेको भएपनि समय कटिसक्दा पनि समिति नेतृत्व बिहीन हुन राम्रो नभएको बताउनु भयो । उहाँले समितिको नेतृत्व जतिसक्दो चाँडो हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसबीचमा तपाईहरु जस्तै मैले बारम्बार यो कुरा गरेको छु, हाम्रा नेताहरुसँग, सत्तापक्षसँग मलाई जानकारी भएअनुसार आजभोलि टुंगिनुपर्दथ्यो । असार भित्रमा सभापति संसदले पाउँछ, भनेर मलाई भनिएको थियो । तर असार पनि नाघ्यो । अब समितिले सभापति पाउँछ ।
समितिले सभापति नपाएको कुरा दुःखद् हो । जतिसक्दो चाँडो यसले टुंगो पाउनुपर्छ । हामीले मंसिरदेखि अहिलेसम्म समिति सभापति त बनाउन सकेका छैनौँ भने अब हामी टुंग्याउनतर्फ लागौँ ।
समितिको सभापति नहुँदा वास्तवमा समितिको नेतृत्व नै छैन । हाम्रा ज्येष्ठ सदस्यहरुले त समिति सञ्चालन गर्नुभएको छ, धन्यवाद दिनुपर्छ । जुम्लामा भएको घटनालाई लिएर एउटा प्रक्रिया शुरु गरौँ । अनुगमन भनेर उपसमिति नै बनाउने काम नगरौँ । यसबारेमा हामीलाई सरकारले जानकारी दिँदा त काम त शुरु भयो नि ।’
सांसद नेम्वाङले जुम्लामा भएको घटनको विषयमा छानबिन गर्न उपसमिति बनाइहाल्न आवश्यक नरहेको तर घटनाको अनुसन्धानका लागि समिति सभापतिको नेतृत्वमा केही प्रक्रिया शुरु गर्न सकिने बताउनु भयो ।