काठमाडौं । धनुषा प्रहरीले चोरीको आरोपमा ३० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले बिहीवार चोरी कार्यमा संलग्न ३० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । जसमा जयप्रकाश यादवलाई तेस्रो पटक पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका देउरी परवाहाका यादवले आफू करिव १०/११ वर्षको हुँदादेखि नै चोरी गरिरहेको बयान दिएका छन् ।
यस्तै, ३५ वर्षीय कृष्णकुमार मिश्रलाई प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा नियन्त्रणमा लिएको थियो। मिश्र पनि यसअघि पटक–पटक चोरी आरोपमा पक्राउ पर्दै आएका थिए ।
तर, पीडितले जाहेरी नदिएपछि उनीहरुमाथि प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्दा चाँडै छुट्ने गरेको प्रहरीको भनाइ छ । धनुषा प्रहरीले बिहीवार चोरीको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरु १७ वर्षदेखि ३८ वर्षसम्मका व्यक्ति रहेका छन्।
उनीहरुलाई मोटरसाइकल चोरीदेखि हेल्मेट, धर्मशालामा चोरी गर्ने, पलसबाट नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
धनुषा प्रहरीले गत आर्थिक वर्षमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा सम्बन्धित व्यक्तिको जिम्मा लगाएको बताएको छ । खड्काका अनुसार ३६५ वटा मोबाइल चोरीको निवेदन परेकोमा २६० वटा फेला पारी बुझाइएको छ I