काठमाडौं । फिल्मको पोस्टर पोलमा टाँसेर वातावरण प्रदुषित गरेको भन्दै चलचित्र ‘बगान’को निर्मातालाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालय बोलाएर ५० हजार जरिवाना तिराएको निर्माता सुरेश वाग्लेले बताए। ‘पोस्टर टाँसेको देखेर हामीलाई फोन गरियो। कुरा गर्न भनेर बोलाउनुभएको थियो। कार्यालयमा मिडिया बोलाएर हाम्रो फिल्मको दुष्प्रचार गरियो। त्यहाँ हामीलाई नराम्रो व्यवहार गर्दै जरिवाना तिराइयो,’ निर्माता वाग्लेले भने।
जरिवाना तिरेपछि वाग्लेले महानगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई मेन्सन गर्दै फेसबुक पोस्टमा असन्तुष्टि जनाएका छन्। ‘बालेन जी, आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग त गर्नु भएन तर अवरोध चाहिं नगरिदिनुहोल। बाँकी कुरा मिडियाप्रेमी महानगर प्रहरी प्रमुख राजु पाण्डेजीलाई सोघ्नुहोला।’